प्रिमियर इन्स्योरेन्सले लगानीकर्तालाई बनायो निराश, सेयर मूल्यमा उच्च गिरावट

  २०७६ फाल्गुन १२ गते १२:४९       विकासन्युज

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई निराश बनाएकाे छ । कम्पनीले गत आर्थिक वर्षको लाभांश नदिने घाेषणा गरेसँगै इन्स्योरेन्सका लगानीकर्ता निराश देखिएका सोमबारको बजारले संकेत गरेको छ ।

सोमबारको बजारमा उत्साह कायमै रहेपनि प्रिमियर इन्स्योरेन्सका सेयर लगानीकर्तामा भने उत्साह छाएको छैन । सो दिन कम्पनीको सेयर मूल्य उच्च अंकले ओरालो लागेको छ । कारोबार खुलेको करिब साढे एक घण्टामा कम्पनीको सेयर मूल्य ७.१५ प्रतिशतले ओरालो लागेर प्रतिकित्ता ७०१ रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ५४ रुपैयाँले घटी हो ।

मूल्य घटेको कम्पनीको सेयर बेच्नेको भन्दा पनि किन्नेको बढी चाप देखिएको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको १५ हजार ७ सय ३२ कित्ता सेयर बिक्रीमा रहेको छ भने ३६ हजार ७ सय २४ कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक रहेका छन् ।

कम्पनीले फागुन ११ गते आइतबार गत आवको वित्तीय विवरण अनुसार लगानीकर्ता लाभांश वितरण गर्न नमिल्ने जानकारी गराएकाे थियाे । त्यसकै प्रभाव साेमबारकाे कम्पनीकाे काराेबारमा परेकाे हाे ।