नेप्सेले नाघ्याे १४०० बिन्दु, दुई अर्ब बढीको सेयर कारोबार

  २०७६ फाल्गुन ६ गते ३:४६       विकासन्युज

काठमाडौं । सेयर बजार बढ्ने क्रमले निरन्तरता पाएको छ । मंगलबार नेप्से परिसूचकले १४०० अंक पार गरेको छ । दिनभर उतारचढाव देखिएको बजारमा कारोबार बन्द हुँदा नेप्से सामान्य अंकले बढेको छ ।

पछिल्लो समय बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । बजारमा नयाँ लगानीकर्ताको आगमनसँगै दुबैमा वृद्धि भएको जानकारहरु बताउँछन् ।

सोमबार उच्च कारोबार भएको बजारमा मंगलबार पनि दुई अर्ब बढीको सेयर किनबेच भएको छ । मंगलबार १८१ कम्पनीको २ अर्ब १२ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

जसमध्ये सबैभन्दा बढी एनआईसी एशिया बैंकको १० करोड ६३ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, एनएमबी बैंकको साढे ९ करोड रुपैयाँ बढी र हिमालयन डिष्टिलरीको ९ करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बजारमा दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सबैभन्दा बढी कालिका माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.८७ प्रतिशतले बढेको छ । त्यस्तै, घलेम्दी हाइड्रोको सेयर मूल्य ९.५२ प्रतिशतले बढेको छ ।