दोहोरो अंकले बढ्यो नेप्से, साढे एक अर्बको कारोबार, शिवम् र एनआईसी एशियाको सबैभन्दा बढी

  २०७६ माघ २८ गते ३:५१       विकासन्युज

काठमाडौं । मंगलबारको नेप्से १७.११ अंकले उकालो लागेको छ । सोमबार सामान्य अंकले बढेको बजार मंगलबार दोहोरो अंकले बढेर १३४१.३८ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.२९ प्रतिशत बढी हो ।

त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.७५ अंकले उकालो लागेर २८५.३७ अंकमा पुगेको छ ।

बजारमा परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । मंगलबारको बजारमा कूल एक अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ६० करोड रुपैयाँ बढी हो । सोमबारको बजारमा कूल ९३ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएका छन् ।

१७५ कम्पनीको कारोबार भएको बजारमा शिवम् सिमेन्ट र एनआईसी एशिया बैंकको ११ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । सबैभन्दा बढी शिवमको १५ करोड २ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएको छ भने एनआईसी एशियाको ११ करोड २३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

समूहतर्फ हेर्दा ट्रेडिङ् समूह बाहेक कारोबारमा आएका बाँकी समूह हरिया देखिएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह ९३ अंकले उकालो लागेको छ । ओरालो लागेको ट्रेडिङ् समूह भने १०.६७ अंकले घटेको छ ।

दोहोरो अंकले बढेको बजारमा कालिका पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । सो कम्पनीका लगानीकर्ताले एकैदिन १० प्रतिशत कमाएका छन् । त्यस्तै, नेपाल सेवा लघुवित्तका लगानीकर्ताले ९.८३ प्रतिशत कमाएका छन् । संस्थाको सेयर मूल्य प्रतिकित्ता ७९३ रुपैयाँ रहेको छ ।