शेयर बजारमा लगानीकर्ताको उत्साह बढ्दो, पौने दुई अर्बको कारोबार, सबैभन्दा बढी एनटीसीको

  २०७६ पौष २८ गते ३:२६       विकासन्युज

काठमाडौं । शेयर बजारमा लगानीकर्ताको उत्साह बढ्दो क्रममा रहेको छ । जसको सकारात्मक प्रभाव दिनप्रतिदिन बढ्दै गएको कारोबार रकमले संकेत गरेको छ ।

सोमबारको बजारमा पनि करिब पौने दुई अर्बको शेयर कारोबार भएकाे छ । दिनभरकाे काराेबारमा एक अर्ब ७० करोड ५० लाख रुपैयाँ बराबरको शेयर किनेबच भएको छ । जुन आइतबारको तुलनामा ३७ करोड रुपैयाँ बढी हो । आइतबारको बजारमा कूल एक अर्ब ३३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

कूल १८३ कम्पनीको कारोबार भएको बजारमा ५५ लाख १८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये नेपाल दुरसञ्चार कम्पनीको सबैभन्दा बढी अर्थात ६ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । सोमबार कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६४५ रुपैयाँ रहेको छ । यस कम्पनीको मंगलबार(पुस २९ गते) वार्षिक साधारणसभामा जाँदै छ ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र एनआईसी एशिया बैंकको क्रमशः ५ करोड ९७ लाख र ५ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

उच्च कारोबार भएको बजारमा नेप्से परिसूचक पनि बढेर उच्च बिन्दुमा पुगेको छ । आइतबारको तुलनामा परिसूचक १५.१४ अंकले उकालो लागेर १२७०.८६ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा १.२१ प्रतिशत बढी हो ।

सोमबार दुई समूह बाहेक बाँकी समूहमा हरियाली छाएको छ । जसमध्ये जीवन बीमा समूह ५२ अंकले उकालो लागेको छ । त्यस्तै, हाइड्रो ४८, निर्जीवन बीमा ३९, ट्रेडिङ २५, बैंकिङ् १४, विकास बैंक र होटल १२/१२ र फाइनान्स समूह १० अंकले बढेका छन् । माइक्रोफाइनान्स र उत्पादनमूलक क्रमशः १३ र २ अंकले घटेका छन् भने बाँकी समूह सामान्य एकल अंकले उकालो लागेका छन् ।

परिसूचक र कारोबार रकम दुबैमा उच्च वृद्धि भएको बजारमा सबैभन्दा बढी घोडाघोडी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । उक्त संस्थाका लगानीकर्ताले अघिल्लो दिनको तुलनामा ९.८७ प्रतिशत कमाएका छन् । त्यस्तै, सानिमा माई हाइड्रोपावरको शेयर मूल्य ९.७८, चिलिमे हाइड्रोपावर र राधी विद्युत कम्पनीको शेयर मूल्य बराबर अर्थात ८.६७ प्रतिशतले बढेको छ ।