इन्फिनिटी लघुवित्तले १५% लाभांश र २५% हकप्रद शेयर जारी गर्ने, कहिले हुँदै छ बुक क्लोज ?

  २०७६ मार्ग १६ गते १:२९       विकासन्युज

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

साथै, संस्थाको सञ्चालक समितिको बैठकले सो मात्राको बोनस पश्चात कायम हुने चुक्ता पुँजीको २५ प्रतिशत अर्थात ४ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावलाई संस्थाको आगामी साधारणसभाले स्वीकृत गरेपछि मात्रै शेयरधनीले सो मात्राको लाभांश तथा हकप्रद शेयर पाउनेछन् । संस्थाको वार्षिक साधारणसभा आगामी पुस १८ गते शुक्रबार बिहान ११ बजे नवलपुरमा बस्दै छ । सो प्रयोजनको लागि पुस ४ गतेदेखि पुस १८ गतेसम्म संस्थाको बुक क्लोज हुने लघुवित्तले जनाएको छ ।

हाल संस्थाको चुक्ता पुँजी २० करोड ७४ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस शेयर पश्चात संस्थाको चुक्ता पुँजी २२ करोड ८१ लाख रुपैयाँ कायम हुने छ । त्यसपछि उक्त पुँजीको २५ प्रतिशत हकप्रद पश्चात संस्थाको चुक्ता पुँजी २८ करोड ५१ लाख रुपैयाँ नाघ्ने छ ।