काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशमा अध्ययन गर्न जाने तथा अध्ययनरत नेपाली विद्यार्थीहरूको भिसा प्रक्रिया, नवीकरण र निर्वाह खर्चका लागि आवश्यक विदेशी मुद्रा सटहीसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ ।
राष्ट्र बैंकले जारी गरेको एकीकृत परिपत्र-२०८२ अनुसार अब सम्बन्धित मुलुकका राजदूतावास वा सरकारी निकायले विद्यार्थीको नाममा तोकेको निश्चित रकम देखाउने कागजातका आधारमा आवश्यक विदेशी मुद्रा सटही उपलब्ध गराइनेछ ।
यस्तो सटही उपलब्ध गराउँदा विनिमय दरको उतारचढावका कारण हुन सक्ने अतिरिक्त खर्चलाई ध्यानमा राख्दै अधिकतम ५ प्रतिशतसम्म थप रकम अमेरिकी डलर वा अन्य परिवर्त्य विदेशी मुद्रामा पठाउन सकिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, आवश्यक कागजात सक्कलै हुनुपर्ने प्रावधान भए पनि अब इलेक्ट्रोनिक कारोबार ऐन, २०६३ अनुसार डिजिटल हस्ताक्षरद्वारा प्रमाणित कागजातलाई पनि मान्यता दिइनेछ । यसले डिजिटल प्रणालीमार्फत हुने कागजात प्रमाणीकरणलाई औपचारिक रूपमा स्वीकार गर्ने व्यवस्था गरेको छ ।