काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार १११.७० अंकले बढेर २६२३.६२ बिन्दुमा पुगेको छ।
जेनजी प्रदर्शनपछिको पहिलो दिन १६० अंकले घटेर सेयर बजार क्र्यास भएको थियो । गत बिहीबार बजार परिसूचक नकारात्मक सर्किट लाग्दै १६० अंकले घटेर बन्द भएको थियो ।
आज कारोबार रकमसमेत ९ अर्ब १९ करोड पुगेको छ । २ करोड कित्ता खरिदबिक्रीमा उक्त परिमाणको कारोबार भएको हो । आज २२४ वटा सेयरको मूल्य बढ्दा २८ वटाको घटेको छ ।
आज निर्जीवन बिमा र म्युचुअल फन्डबाहेक सबै सूचक बढेका छन् । निर्जीवन बिमा समूहमा सबैभन्दा धेरै ३.५३ प्रतिशत मूल्य घटेको छ भने ट्रेडिङ समूहमा सबैभन्दा धेरै ८.३३ प्रतिशतले बढेको छ ।
त्यस्तै, इन्भेस्टमेन्ट समूहमा ७.७७ प्रतिशत, विकास बैंकमा ६.३४ प्रतिशत, फाइनान्स समूहमा ६ प्रतिशत, हाइड्रो समूहमा ५.९८ प्रतिशत तथा जीवन बिमा समूहमा ५.९३ प्रतिशत वृद्धि भएको छ ।
त्यस्तै, उत्पादनमूलक क्षेत्रमा ४.८६ प्रतिशत, बैंकिङमा ४.७६ प्रतिशत तथा माइक्रो फाइनान्समा ४.०३ प्रतिशत मूल्य बढेको छ । बजारमा आज १६ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ ।
सिन्धु विकास बैंक, भूगोल इनर्जी, गुडबिल फाइनान्स, शिवम् सिमेन्ट, जोशी हाइड्रोपावर, अपि पावर, आँखुखोला जलविद्युत्, बलेफी हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ७.६४ प्रतिशतले घटेको छ ।
सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको भयो । उक्त कम्पनीको ८३ करोडको कारोबार भएको हो ।