काठमाडौं । लाभांश सिजन सुरु भएसँगै धमाधम कम्पनीहरू गत वर्षको नाफाबाट सेयरधनीहरुलाई प्रतिफल वितरण गरिरहेका छन् । विशेषगरी पुँजी बजारका लगानीकर्ताहरूले यो समयलाई लाभांश सिजनको रूपमा लिने गर्छन् । आफूले लगानी गरेको कम्पनीले नाफाबाट अधिकतम प्रतिफल वितरण गरोस् भन्ने अपेक्षा लगानीकर्ताहरुले गरेका हुन्छन् ।
साथै, यो समयमा लगानीकर्ताहरु गत वर्ष आर्जन गरेको नाफाबाट कुन कम्पनीले कति प्रतिफल वितरण गर्याे, कुन कम्पनीले कति प्रतिफल दिन सक्ला भनेर विश्लेषण गरिरहेका हुन्छन् । आर्थिक वर्ष सकिएपछि कम्पनीहरुले वार्षिक साधारण सभा (एजीएम) आह्वान गर्छन् । वार्षिक साधारण सभा आह्वान गरेका कम्पनीको एजेण्डामा लाभांश प्रस्ताव छ की छैन भनेर लगानीकर्ताहरुले ठूला आँखा बनाएर हेर्ने गरेका छन् ।
हालसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १० सूचीकृत कम्पनी र ४० वटा म्युचुअल फण्डको लाभांश घोषणा गरिसकेका छन् ।
१० सूचीकृत कम्पनीको लाभांश घोषणा
माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँको ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ नगद गरी कुल ८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १४ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल चुक्ता पुँजीको १३.५३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.६७ प्रतिशत नगद लाभांश गरी कुल १८.२० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद गरी ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
मिड सोलु हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट १५ प्रतिशत बोनस र ०.७८ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
सिक्लेस हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०८०/८१ र आर्थिक वर्ष २०८१/८२ सम्मको संचित नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशतका दरले हुन आउने १२ करोड ७५ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशतका दरले ६७ लाख १० हजार ५२६ रुपैयाँ नगद गरी कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको करसहित ६.३१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
हाथवे इन्भेष्टमेन्ट नेपालले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँको १२ प्रतिशतका दरले १६ करोड ९८ लाख ८४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.६३२ प्रतिशतका दरले ८९ लाख ४१ हजार रुपैयाँ नगद गरी कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।
नेपाल ल्युब आयलले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद गरी २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
४० वटा म्युचुअल फण्डको लाभांश
गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ४० वटा म्युचुअल फण्डले इकाईधनीहरुलाई लाभांश वितरण गरेका छन् । लाभांश घोषणा गरेका म्युचुअल फण्डहरुले इकाईधनीहरुको खातामा प्रतिफल बराबरको रकम समेत पठाइसकेका छन् ।
सिटिजन्स क्यापिटलले २ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । कम्पनीले सिटिजन्स म्युचुअल फण्ड-२ इकाईधनीलाई ८.२५ प्रतिशत र सिटिजन्स सुपर ३० म्युचुअल फण्डका इकाईधनीलाई १२.७५ प्रतिशत लाभांश वितरण गरेको हो ।
गरिमा क्यापिटलले गरिमा समृद्धि योजनाको ५.१० प्रतिशतका दरले ६ करोड ३७ लाख ५० हजार रुपैयाँ, ग्लोबल आइएमई क्यापिटलले ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१को १२ प्रतिशत, हिमालयन क्यापिटलले हिमालयन ८०-२० इकाईधनीलाई करसहित १६.१६ प्रतिशत लाभांश वितरण गरेको हो ।
कुमारी क्यापिटलले विभिन्न ४ वटा म्युचुअल फण्डको लाभांश वितरण गरेको छ । क्यापिटलले कुमारी धनवृद्धि योजनाको इकाईधनीलाई १०.५ प्रतिशत, कुमारी इक्विटी फण्डको ११.५ प्रतिशत, कुमारी सबल योजनाको ९ प्रतिशत र कुमारी सुनौलो लगानी योजनाको करसहित ८.८८ प्रतिशत लाभांश वितरण गरेको हो ।
लक्ष्मी सनराईज क्यापिटलले ६ वटा म्युचुअल फण्डका इकाईधनीहरुलाई प्रतिफल वितरण गरेको छ । क्यापिटलले लक्ष्मी उन्नति कोषका इकाईधनीलाई २० प्रतिशत, लक्ष्मी भ्यालू फण्ड-२ का इकाईधनीलाई १५ प्रतिशत र शुभ लक्ष्मी कोषका इकाईधनीलाई १६ प्रतिशत लाभांश वितरण गरेको हो । यस्तै, सनराइज ब्लुचिप फण्डको १९ प्रतिशत, सनराइज फस्र्ट म्युचुअल फण्डको १४ प्रतिशत र सनराइज फोकस्ड इक्विटी फण्डको १३.५ प्रतिशत प्रतिफल वितरण गरेको हो ।
नबिल इन्भेष्टमेन्ट बैंकिङले ३ वटा म्युचुअल फण्डका इकाईधनीलाई लाभांश वितरण गरेको छ । कम्पनीले नबिल ब्यालेन्स्ड फण्ड-२ र नबिल ब्यालेन्स्ड फण्ड-३ को समान १३/१३ प्रतिशत, नबिल फ्लेक्सी क्याप फण्डको ९ प्रतिशत लाभांश वितरण गरेको हो ।
एनआईएमबि एस क्यापिटलले ४ वटा म्युचुअल फण्डका इकाईधनीहरुलाई लाभांश वितरण गरेको छ । कम्पनीले एनआईबिएल ग्रोथ फण्डको १० प्रतिशत, एनआईबिएल सहभागिता फण्ड र एनआईबिएल समृद्धि फण्ड-२ को ७/७ प्रतिशत र मेगा म्युचुअल फण्डका इकाईधनीलाई ११.७५ प्रतिशत लाभांश वितरण गरेको हो ।
यस्तै, मुक्तिानाथ क्यापिटलले मुक्तिनाथ म्युचुचल फण्डका इकाईधनीहरुलाई ३.८ प्रतिशत लाभांश वितरण गरेको हो ।
एनआईसी एशिया क्यापिटलले विभिन्न ४ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ४ म्युचुअल फण्डका लागि गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ३६ करोड ५४ लाख २२ हजार ४१० रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । क्यापिटलका अनुसार एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले १०.१० प्रतिशत अर्थात् १० करोड ३० लाख २० हजार रुपैयाँ, एनआईसी एशिया ब्यालेन्सड् फण्डले ९.९० प्रतिशत अर्थात् ७ करोड ४७ लाख ४५ हजार रुपैयाँ, एनआईसी एशिया सेलेक्ट-३० (इन्डेक्स फण्ड)ले ८.६५ प्रतिशत अर्थात् १० करोड ८१ लाख २५ हजार रुपैयाँ र एनआईसी एशिया डानामिक डेप्ट फण्डले ५.५५ प्रतिशत अर्थात् ७ करोड ९५ लाख ३२ लाख ४१० रुपैयाँ नगद लाभांस वितरण गरेको हो ।
एनएमबि क्यापिटलले ३ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरिएको छ । कम्पनीले एनएमबि फिफ्टीको १५ प्रतिशत, एनएमबि सरल बचत फण्ड-इको ४.१८ प्रतिशत र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ को १५ प्रतिशत लाभांश वितरण गरेको हो ।
प्रभु क्यापिटलले २ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरको छ । कम्पनीले प्रभु सेलेक्ट फण्डको १२ प्रतिशत र प्रभु स्मार्ट फण्डको १० प्रतिशत नगद लाभांश वितरण गरेको हो ।
आरविवि मर्चेन्ट बैंकिङ्गले २ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरको छ । कम्पनीले आरविवि म्युचुअल फण्ड-१ को २० प्रतिशतका दरले २५ करोड रुपैयाँ र आरविवि म्युचुअल फण्ड-२ को १३ प्रतिशतका दरले १९ करोड ९९ लाख ९५ हजार ५०७ रुपैयाँ नगद लाभांश वितरण गरेको हो ।
सानिमा क्यापिटलले २ वटा म्युचुअल फण्डका इकाईधनीहरुलाई लाभांश वितरण गरेको छ । कम्पनीलेसानिमा ग्रोथ फण्डले १५.७९ प्रतिशत र सानिमा लार्ज क्याप फण्डको २१.०५ प्रतिशत लाभांश वितरण गरेको हो ।
सिद्धार्थ क्यापिटलले ४ वटा म्युचुअल फण्डको लाभांश वितरण गरेको छ । कम्पनीले सिद्धार्थ इक्विटी फण्डको २० प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ को १७ प्रतिशत, र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ-२ को २० प्रतिशत र सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको ८ प्रतिशत लाभांश वितरण गरेको हो ।