झापा इनर्जीको आईपीओ बिक्री खुला, ५ हजार कित्ता आवेदन दिन सकिने

काठमाडौं । झापा इनर्जीले आज भदौ २० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । 

कम्पनीले पहिलो चरणमा जारी पुँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात् ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ५७ हजार २९ कित्ता सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । 

अब दोस्रो चरणमा कम्पनीले सामूहिक लगानी कोषका लागि २८ हजार ५१४ कित्ता, कर्मचारीका लागि ११ हजार ४०६ कित्ता र बाँकी रहेको ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरेको हो । 

कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले छिटोमा भदौ २४ गते र ढिलोमा असोज ३ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । 

इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

Share News