काठमाडौं । बझाङको बुङ्गल हाइड्रोले आज भदौ १६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरेपश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २९ लाख ५ हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ८ लाख ३० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र बझाङको बुङ्गल नगरपालिकाका स्थानीय र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख ७ हजार ५ सय कित्ता सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ ।
अब दोस्रो चरणमा कम्पनीले ५ प्रतिशत अर्थात् १ लाख ३ हजार ७५० कित्ता सामूहिक लगानी कोष, ३ प्रतिशत अर्थात् ६२ हजार २५० कित्ता कर्मचारी र बाँकी रहेको १७ लाख १ हजार ५ सय कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा भदौ १९ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिमा सेयर पूर्ण बिक्री नभएमा आवेदन दिने भदौ ३० गतेसम्म लम्बिनेछ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।