काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८ अंकले घटेर २७८१ बिन्दुमा झरेको छ ।
आज २४ कम्पनीको सेयर मूल्य बढ्दा २२७ कम्पनीको सेयर मूल्य घटेको छ ।
बिहीबार ३२२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९ कारोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्सको भएको छ । नेपाल रिइन्स्योरेन्सको ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै, हिमालयन रिइन्स्योरेन्सको ६० करोड, हिमालयन डिस्टीलरीको ३५ करोड, शिवम् सिमेन्टको २२ करोड र युनाइटेड मोदीको १९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा सबै सेक्टरका सूचक घटेका छन् । विकास बैंक सबैभन्दा धेरै २.३८ प्रतिशतले घटेको छ । बैंकिङ ०.८७, फाइनान्स १.९७, होटल तथा पर्यटन १.६०, हाइड्रोपावर १.४४, लगानी १.५८, जीवन बीमा १.६५, उत्पादन तथा प्रशोधन १.७०, माइक्रोफाइनान्स १.४०, अन्य १.७० र व्यापार १.२६ प्रतिशतले घटेको छ । निर्जीवन बीमा जम्मा ०.०१ प्रतिशतले बढेको छ ।
आज विकास हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।