आज १० अर्बको विकास ऋणपत्र बिक्री गरिदैं, यसरी उठाइँदैछ आन्तरिक ऋण

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज १० अर्ब रुपैयाँको ‘विकास ऋणपत्र-२०८५’ बिक्री गर्ने भएको छ । तीन वर्षे अवधिको सो ऋणपत्र बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागिएको हो । सो ऋणपत्रको नेपाल स्टक एक्सचेञ्जमा दोस्रो बजार कारोबार हुनेछ ।

यो ऋणपत्र धितो राखी कर्जा लिन वा दिन समेत पाइनेछ । आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उक्त ऋणपत्रको बोलकबोल हुनेछ । अर्ध वार्षिक रुपमा ब्याज भुक्तानी गरिने र आयकर समेत लाग्ने ऋणपत्रको साँवा भुक्तानी भने २०८५ साउन ८ गते हुने सो कार्यालयले जनाएको छ ।

इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी वा अप्रतिस्पर्धी बोलदातालाई क्रमशः ८५ र १५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड रुपैयाँ र १ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ । अप्रतिस्पर्धी बोलदातालाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलदातालाई बिक्री गरिने छ । 

अप्रतिस्पर्धी बोलदातालाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलदातालाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिनेछ ।

यसरी उठाइँदैछ आन्तरिक ऋण

सरकारले चालु आवमा ३ खर्ब ६२ अर्ब बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले साउनदेखि आगामी असोजसम्म १ खर्ब १३ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने गरी कार्यतालिका समेत सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार सो अवधिमा अवधिमा १ खर्ब १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्नेछ ।

कार्यतालिका अनुसार कार्यालयले १० अर्ब रुपैयाँ बराबरका तीन वर्षेदेखि ११ वर्षे अवधिका ११ वटा विकास ऋणपत्र बिक्री गर्नेछ । यस्तै, ५ वर्षे २ अर्ब ५० करोड रुपैयाँको नागरिक बचतपत्र, ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्री गरिनेछ ।

यस्तै चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् कात्तिकदेखि पुससम्ममा ८५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने कार्यतालिका छ । त्यसमा ट्रेजरी बिल मार्फत २५ अर्ब रुपैयाँ तथा विकास ऋणपत्र मार्फत ६० अर्ब रुपैयाँ उठाइनेछ । उक्त अवधिमा ५ अर्ब रुपैयाँको २८ दिनेदेखि एकवर्षे अवधिको ५ वटा ट्रेजरी बिल बिक्री गरिनेछ । यस्तै, १० अर्ब रुपैयाँका तीन वर्षेदेखि १० वर्षे अवधिका छ वटा विकास ऋणपत्र बिक्री गरिनेछ ।

कार्यतालिका अनुसार, आगामी माघदेखि चैतसम्ममा १ खर्ब ९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइनेछ । सो समयमा ट्रेजरी बिलमार्फत ५० अर्ब रुपैयाँ तथा विकास ऋणपत्रमार्फत ५६ अर्ब रुपैयाँ उठाइनेछ । यस्तै, ५ वर्षे अवधिको २ अर्ब ५० करोड रुपैयाँको नागरिक बचतपत्र तथा ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्री गरिनेछ । कार्यतालिकाअनुसार आगामी वैशाखदेखि असारसम्ममा ५५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइनेछ ।

उक्त अवधिमा ५ अर्ब रुपैयाँका ११ वटा ट्रेजरी बिलमार्फत ५५ अर्ब रुपैयाँ उठाइनेछ । सरकारले गत जेठ १५ गते नै चालु आर्थिक वर्षका लागि  १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । जसमा चालुतर्फ ११ खर्ब ८० अर्ब ५८ करोड रुपैयाँ, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ६९ करोड रुपैयाँ र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा स्रोतका रूपमा राजस्वबाट १३ खर्ब १५ अर्ब रुपैयाँ, आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब रुपैयाँ, बाह्य ऋणबाट २ खर्ब ३३ अर्ब रुपैयाँ र अनुदानबाट ५३ अर्ब रुपैयाँ जुटाउने उल्लेख छ । बजेटमा व्यवस्था भए अनुसार कार्यालयले आन्तरिक ऋण उठाउनका लागि विकास ऋणापत्र, ट्रेजरी बिल्स र वैदेशिक रोजगार वचतपत्र बिक्रीको कार्यतालिका सार्वजनिक गरेको हो ।

Share News