लाभांश घोषणा गर्ने पहिलो कम्पनी बन्यो एनआईबिएल एस, सहभागिता फण्डले ७ प्रतिशत बाँड्ने

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ सुरु भएसँगै लाभांशको सिजन पनि सुरु भएको छ । गत वर्ष लगानी गरेका कम्पनीहरुको आम्दानीबाट सबै हिसाबकिताब मिलान तथा लेखापरीक्षणपछि लाभांश वितरणको प्रस्ताव गरिन्छ । चालु आवमा लाभांश घोषणा गर्नेमा एनआईबिएल सहभागिता फण्ड पहिलो बनेको छ । 

एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजना)ले लाभांश घोषणा गरेको हो । एनआईएमबि एस क्यापिटलको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले सहभागिता फण्डका इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

एनआईबिएल सहभागिता फण्का इकाईधनीहरुलाई कर सहित ७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । साथै, लाभांश वितरण प्रयोजनार्थ साउन ५ गते नै बुक क्लोज गर्ने निर्णय गरेको छ । अर्थात् साउन ५ गतेसम्म कायम इकाईधनीहरुले मात्रै सो लाभांश प्राप्त गर्नेछन् ।

क्यापिटलका अनुसार इकाईधनीहरुले लाभांशबाट प्राप्त रकमलाई पुनः लगानी योजनामार्फत थप इकाई खरिद गर्न सक्ने छन् । एनआईबिएल सहभागिता फण्डको स्वीकृत कोष आकार ६ अर्ब रुपैयाँ समाप्त भएकाले नेपाल धितोपत्र बोर्डबाट योजनाको आकार वृद्धिको स्वीकृति प्राप्त गरे पश्चात् लाभांश प्राप्त गर्नेछन् । 

Share News