तेस्रो बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट आजदेखि सुरु, नेपाललाई बौद्ध पर्यटन केन्द्रको रूपमा स्थापित गर्न मद्दत पुर्‍याउने

काठमाडौं । तेस्रो बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट (बीआईटीएम) शुक्रबार (आज) देखि सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएन अफ टुर एण्ड ट्राभल (नाट्टा) को दुवैले संयुक्त रूपमा होटल सोल्टीमा आयोजना भएको मार्ट शनिबार (भोलि)सम्म चल्ने छ । 

यसअघि बुद्धको जन्मस्थान लुम्बिनीमा मात्रै मार्ट आयोजना हुँदै आएकोमा यो पटक काठमाडौंमा पनि आयोजना गरिएको आयोजकले जनाएको छ । 

कार्यक्रममा नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा धर्मको माध्यमबाट पनि नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित मार्टको आयोजना गरेको बताए । 

उनले भने, ‘बीआईटीएम २०२५ नेपाललाई केवल बुद्धको जन्मस्थलको रूपमा होइन, बरु बौद्ध धर्मको गहिरो सांस्कृतिक, ऐतिहासिक र आध्यात्मिक महत्व बोकेको देशको रूपमा चिनाउने अवसर हो । यसले निजी क्षेत्र र सरकारी निकायहरूबीचको सहकार्यलाई बलियो बनाउनेछ ।’

संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले आजदेखि काठमाडौंबाट सुरु भएको कार्यक्रमको सफलताको कामना गर्दै नेपाल विश्वभरका पर्यटकलाई स्वागत गर्न सधैं तयार रहेको बताए । 

उनले सबै मिलेर नेपाललाई शाझा शान्तिको विकास गर्ने एक मञ्च बनाउनुपर्ने औंल्याए । सबै मिलेर बुद्धलाई सम्मान दिँदै त्यही सबै मिलेर बुद्धको मार्गमा अघि बढ्नुपर्ने मन्त्री पाण्डेको भनाइ छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्दप्रसाद ढकालले पर्यटन प्रवद्र्धनको लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन आग्रह गरेका छन् । अध्यक्ष ढकालले मार्टले नेपाललाई बौद्ध पर्यटन केन्द्रको रूपमा स्थापित गर्न मद्दत पुर्याउने उल्लेख गर्दै मार्टलाई थप परिस्कृत गर्न र नेपालको लागि ब्राण्डको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

आजदेखि सुरु भएको कार्यक्रम भोलिसम्म चल्ने छ । आज काठमाडौंमा उद्घाटन सत्रसँगै बिटुबी मिटिङ र स्टल प्रदर्शनी रहने छ । दोस्रो दिन भोलि  कन्फ्रेन्स, बिटुबी नेटवर्किङ र प्रदर्शनीको निरन्तरता रहनेछ भने भोलि नै  साँझ लुम्बिनी जाने  कार्यक्रम रहेको आयोजकले जनाएको छ । 

आयोजनका अनुसार २५ मे मा लुम्बिनीमा त्यहाँ पोष्ट कन्फ्रेन्स, एफएम ट्रिप, बिटुबी नेटवर्किङसहित कार्यक्रमको समापन हुने छ । २६ मे मा काठमाडौं फिर्ता हुँदै विदेशीहरू आ-आफ्नो देशमा फर्किने कार्यक्रम रहेको छ ।

यो कार्यक्रमको मूख्य लक्षित समूहमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका ट्राभल एण्ड ट्रेड कम्पनी, पर्यटनसम्बद्ध सरकारी कार्यालय, बुद्धिजमसँग सम्बन्धित संघसंस्था, राष्ट्रिय र अन्तर्राष्ट्रिय एयरलाइन्स, सञ्चारमाध्यमलगायत रहेको आयोजकले जनाएको छ ।

नेपालमा पहिलोपटक सन् २०१९ र दोस्रोपटक सन् २०२३ मा बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट सम्पन्न भएको थियो । सन् २०२३ मा २५० भन्दा बढी भिजिटर्स, ८ सय भन्दा बढी सदस्य, १५ भन्दा बढी देशका प्रतिनिधि, ५० भन्दा बढी बिक्रेता र ५० भन्दा बढी सञ्चारमाध्यमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

आयोजनाका अनुसार सन् २०२३ मा ३५० भन्दा बढी भिजिटर्स, ९ सयभन्दा बढी सदस्य, ८० भन्दा बढी ब्लगर्स/मिडियाको सहभागिता रहेको थियो ।
 

Share News