काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सोमबार संसदमा प्रतिवेदन पेस गर्ने भएको छ । समितिका संयोजक सूर्य थापाले सोमबार संसदमा प्रतिवेदन पेस गर्ने भएका हुन् ।
प्रतिवेदनलाई अन्तिम रूप दिन शुक्रबार समितिको बैठक बसेको थियो । समितिको सो ६४औं बैठक थियो । १५ घण्टा चलेको सो बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिएको हो ।
समितिले शुक्रबार टीओआरमा परेका सहकारीसहित अन्य १० वटा सहकारीहरुको वित्तीय स्वास्थ्य जाँचपरीक्षण गरिएको वित्तीय विश्लेषण २ सय पृष्ठभन्दा लामो रहेको संयोजक थापाले बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएकोसमेतका सहकारीमा भएको रकम अपचलनबारे अध्ययन गरेर प्रतिवेदन तयार गर्न समितिलाई टिओआर थियो । सो विषयलाई पनि समितिले प्रतिवदेनमा उल्लेख गरिएको छ । लामिछानेको पनि समितिले बयान लिएको थियो ।
गोर्खा मिडिया नेटवर्कका सन्दर्भमा तत्कालीन प्रबन्ध निर्देशक लामिछानेले इन्कारी बयान दिएकाले प्राप्त कागजात उल्लेख गरेर सरकारलाई बुझाएर निष्कर्षमा पु¥याउन सिफारिस गरिने बुझिएको छ ।
समितिले समस्याग्रस्त सहकारी संस्थाको थप तथ्य र प्रमाण राखेर थप छानबिन तथा कारबाहीका लागि सिफारिस गरिने प्रतिवेदनमा उल्लेख गरेको छ ।
समितिले फरार रहेका सहकारी सञ्चालकलाई तत्काल पक्राउ गरेर अनुसन्धानको प्रक्रियामा ल्याउन आवश्यक रहेको विषय पनि प्रतिवेदनमा उल्लेख छ । समितिले शुक्रबार यो विषयमा गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी प्रमुख आइजिपी वसन्त कुँवरसँग छलफल पनि गरेको थियो ।
सो छलफलमा सहकारीको रकम ठगी गरेर विदेशमा तथा स्वदेमै फरार अवस्थामा रहेका सहकारी सञ्चालकलाई पक्राउ गरेर उनीहरुमाथि अनुसन्धान गर्नुपर्ने विषय उठेको थियो । समितिमा गृहमन्त्री लेखकले फरार अभियुक्त स्वेदश ल्याउन सरकार गम्भीर भएर काम गरिरहेको जानकारी गराएका थिए । उनले केही दिनमा सुखद खबर सुनिने पनि जानकारी दिएको बुझिएको छ ।