महँगो उडान, पर्यटकको घुइँचो

काठमाडौं । चाँदी झैं टल्कने सेता हिमाल आँखै अगाडि हेर्ने रहर कसलाई हुँदैन र ! तर, रहरले मात्रै ती सुन्दर हिमाल हेरेर आनन्दित हुन पाइन्छ भन्ने छैन ।

नेपालका अग्ला हिमालका मनोरम दृश्यका मजा लिन नेपालका वायुसेवा कम्पनीहरूले ‘माउन्टेन फ्लाइट’ गराउँदै आएका छन् । दैनिक सयौंको संख्यामा स्वदेशी तथा विदेशी पर्यटक हिमाल हेर्न माउन्टेन फ्लाइट जाने गरेको वायुसेवा कम्पनीहरू बताउँछन् ।

हिमालै हेर्नका लागि हजारौं पर्यटक नेपाल आउँछन् । हिमाल घुम्ने स्वदेशी तथा विदेशी पर्यटक बढ्दै जान थालेपछि वायुसेवा कम्पनीहरू पनि माउन्टेन फ्लाइट गराउन आकषिर्त हुँदै आएका छन् ।

निजी वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स र श्री एयरलाइन्सले दैनिक माउन्टेन फ्लाइट गराउँदै आएका छन् ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्ण बुद्धले दैनिक माउन्टेन फ्लाइट गराइरहेको बताए । उनका अनुसार बुद्धले दैनिक ३ देखि ७ वटासम्म माउन्टेन फ्लाइट गराउँदै आएको छ ।

‘कहिलेकाहीँ बादलले हिमाल ढाकिदिएका हुन्छन्,’ उनले भने, ‘त्यस्तो अवस्थामा हामी उडान क्यान्सिल गर्छौं, अर्को दिन यात्रुलाई रिक्वेस्ट गरेर रि-सेड्युल गर्छौं, केही यात्रुले हुँदैन भने रिफन्ड गर्छौं ।’

माउन्टेन फ्लाइटमा वायुसेवाले यात्रुले जहाजको झ्यालबाट बाहिर हिमाल हेर्नुपर्ने भएकाले झ्यालको सिट (विन्डो सिट) मा मात्रै यात्रु राख्ने गरेका छन् ।

यसरी माउन्टेन फ्लाइट गर्नेमा धेरै विदेशी पर्यटक हुन्छन् । ‘दैनिक कति उडान माग छ, त्यसैअनुसार हामीले उडान थप्ने गरेका छौं,’ कर्ण भन्छन्, ‘हाम्रो ७२ सिटको एटीआर–७२ जहाज हो, तर माउन्टेन फ्लाइटमा हरेकलाई विन्डो सिट दिएका हुन्छौं, एउटा फ्लाइटमा ३३ देखि ३४ जना यात्रु हुन्छन् ।’

उनले सबै पर्यटक व्यक्तिगत रूपमा हिमाल चढ्न नसक्ने र हिमाल हेर्न चाहना राख्नेले १४ हजार फिटमाथिका ८ अग्ला हिमाल एकसाथ हेर्न पाउने बताए ।

माउन्टेन फ्लाइट गर्न कति शुल्क लाग्छ ?

अहिले नेपाली र भारतीय यात्रुलाई माउन्टेन फ्लाइटको भाडादर एउटै तोकिएको छ । नेपाली र भारतीयलाई १४ हजार ७८ रुपैयाँ तोकिएको छ भने अन्य विदेशी मुलुकका यात्रुलाई ३१ हजार ९ सय २० रुपैयाँ अर्थात् २ सय ४० अमेरिकी डलर तोकिएको छ ।

माउन्टेन फ्लाइट महँगो हुने हुँदा यसले राजस्व संकलनमा पनि महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।

अहिले माउन्टेन फ्लाइटका लागि सिजन नै भनेर ठ्याक्कै भन्न नमिल्ने पनि बुद्धका सूचना अधिकारी कर्ण बताउँछन् ।

‘नेपाल आउने जोसुकै पर्यटकलाई नेपालका मनमोहक हिमालका चुचुराहरूले लोभ्याउँछन्,’ उनी भन्छन्, ‘जो अशक्त हुन्छन्, ट्रेकिङ जान सक्दैनन्, उनीहरूका लागि माउन्टेन फ्लाइट उपयुक्त अवसर हो ।’

मौसमसँग सम्बन्धित उडान भएकाले मौसम राम्रो भएका बेला दैनिक माउन्टेन फ्लाइट गर्नेको संख्या उल्लेख्य नै हुन्छ । कर्णका अनुसार प्रायः सफा मौसम भएको समय यो त्यो सिजन भन्ने हुँदैन, जुनसुकै बेला पनि माउन्टेन फ्लाइट हुन्छ । हिउँ परेको, मौसम सफा नभएको समयमा माउन्टेन फ्लाइट नहुने उनको भनाइ छ ।

उनका अनुसार पर्यटकले एकै फ्लाइटमा १७ भन्दा धेरै हिमालको प्रत्यक्ष दृश्य हेरेर मजा लिन सक्छन् ।

विश्वको सर्वाेच्च शिखर सगरमाथा, गौरिशंकर, दोर्जे ल्हाक्पा, नम्बुर, अमादब्लम, फुर्बी घ्याचु, पिगफारगो, पुमोरी, कार्येलुङ, चोबाभामरे, छुगीमागो लोहोत्से, मकालुलगायत अन्य हिमाल माउन्टेन फ्लाइटबाट प्रत्यक्ष देख्न सकिन्छ ।

अहिले बुद्धले काठमाडौं र पोखराबाट माउन्टेन फ्लाइट गर्दै आइरहेको छ । काठमाडौंबाट दैनिक र पोखराबाट मागअनुसार फ्लाइट गरिने सूचना अधिकार कर्णले बताए ।

यस्तै यती एयरलाइन्सले पनि दैनिक २ देखि ३ वटा माउन्टेन फ्लाइट गरिरहेको एयरलाइन्सका बिजनेस चिफ युवराज विष्टले बताए ।

अहिलेको अवस्थामा नेपालीभन्दा विदेशी पर्यटकहरूको रोजाइमा माउन्टेन फ्लाइट परेको विष्टले बताए । ‘हाम्रा ९९ प्रतिशत यात्रुहरू विदेशी पर्यटक हुन्,’ उनले भने, ‘डिमान्ड हेरेर कहिलेकाहीँ ४ देखि ५ वटा फ्लाइट गराउँछौं ।’

अहिलेको अवस्थामा माउन्टेन फ्लाइटको भाडादर महँगो भए पनि पर्यटक संख्यामा कमी नआएको उनको भनाइ छ । ‘माउन्टेन फ्लाइटको निश्चित भाडादर तोकिएको नै छ,’ उनी भन्छन्, ‘हामीले पर्यटकलाई केही डिस्काउन्ट पनि दिने गरेका छौं ।’

यतिले भने काठमाडौंबाट मात्रै माउन्टेन फ्लाइट गराइरहेको छ ।

यसैगरी श्री एयरलाइन्सले पनि हेलिकोप्टरबाट दैनिक एउटा माउन्टेन फ्लाइट गराइरहेको छ । कहिलेकाहीँ जहाजबाट पनि १–२ फ्लाइट गराउँदै आएको श्रीका कर्पोरेट म्यानेजर अनिल मानन्धरले बताए ।

‘हामीले पनि डिमान्डअनुसार काठमाडौंबाट मात्रै उडान गराइरहेका छौं,’ उनले भने, ‘यति नै हुन्छ भन्ने छैन, माउन्टेन फ्लाइटमा विदेशी नै धेरै हुन्छन् ।’

विदेशी पर्यटकमा कस्तो छ प्रभाव ?

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने नेपालको उत्कृष्ट पर्यटन प्रडक्टमध्ये माउन्टेन फ्लाइट एक रहेको बताउँछन् । उनका अनुसार नेपालमा माउन्टेन फ्लाइट नै गर्ने भनेर पर्यटक आउँदैनन् ।

‘अरू प्याकेज टुरमा आउने पर्यटकले सप्लिमेन्टका रूपमा लिइरहेको देखिन्छ,’ उनी भन्छन्, ‘सेट प्रोग्राममा आएका मेजर टुरिस्टहरूले प्याकेजमा भएका कारण माउन्टेन फ्लाइट गर्छन्, ट्रेकिङ गइरहेकाहरूले यो नगरेको पनि पाइछ ।’

कल्चरल टुरमा आएकाहरूले भने माउन्टेन फ्लाइट गर्ने उनको भनाइ छ । २–४ दिनका लागि आउनेहरू वा धेरै घुम्न नपाउनेहरूले माउन्टेन फ्लाइट गर्ने उनी बताउँछन् ।

माउन्टेन फ्लाइट एक घन्टाको हुन्छ । तर, एक घन्टाको माउन्टेन फ्लाइट नै गर्ने भनेर पर्यटक भने नआउने निर्देशक लामिछाने बताउँछन् ।

‘ट्रेन्ड भनेको हेलिकोप्टर मगाएर पूर्वदेखि पश्चिमसम्म घुम्ने भन्ने छ,’ उनी भन्छन्, ‘त्यसका लागि भने धेरै संख्यामा मान्छे आउँछन्, ट्रेकिङ जाने भनेजस्तै माउन्टेन फ्लाइट गर्छु तर पूर्वदेखि पश्चिमसम्मै गर्छु भन्ने धेरै छन् ।’

विदेशमा हुने विभिन्न टुरिज्म मार्टहरूमा पनि माउन्टेन फ्लाइटको प्रचारप्रसार गरिने लामिछाने बताउँछन् । ‘हामीसँगै एयरलाइन्स कम्पनीहरू पनि कार्यक्रममा सहभागी हुन्छन्,’ उनी भन्छन्, ‘त्यसमा उनीहरूले बढी प्रचार माउन्टेन फ्लाइटकै गर्छन् ।’

माउन्टेन फ्लाइट काठमाडौंमा मात्रै सीमित नराखेर पोखराबाट पनि नियमित रूपमा गर्न सके अझै राम्रो हुने देखिन्छ ।

श्रीले नेपालगञ्जबाट माउन्ट कैलाश फ्लाइट गराइरहेको छ । त्यहाँबाट ती पर्यटकलाई काठमाडौं ल्याई पशुपति दर्शन गराउने पनि श्रीको योजना छ । यो उडान पोखराबाट भारतीय पर्यटकलाई लक्षित गरेर गराउन पनि सकिन्छ । यसबाट पर्यटकले नयाँखालको अनुभूति लिन पाउनेछन् ।

Share News