काठमाडौं । डलर देखाइ नौ लाख रुपैयाँ ठगी गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउपर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ घर भई हाल बूढानीलकण्ठ नगरपालिका–५ टुसाल बस्ने २६ वर्षीय दिलकुमार लामा रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
उनका अनुसार तेह्रथुमको म्याङ्लुङ नगरपालिका–९ घर भई हाल काठमाडौं टेकु बस्ने ३२ वर्षीय गिरिराज लिम्बूलाई डलर देखाइ ठगी गरी फरार रहेका निज लामालाई आइतबार बूढानीलकण्ठ–५ टुसालबाट पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।
डलर देखाई ठगी गर्ने कार्यमा संलग्न अर्का व्यक्ति सिन्धुपाल्चोकको बाह्रबिसे–४ बस्ने वर्ष ३६ का अमृतकुमार लामालाई गत मङ्सिर २१ गते प्रहरीले पक्राउ गरिसकेको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक पाठकले बताए । रासस