काठमाडौं । आगामी तीन दिनसम्म देशभर ठूलो वर्षाको सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
ठूलो वर्षाको सम्भावना नभए पनि कतैकतै छिटफुट वर्षा हुनसक्ने महाशाखाका मौसमविद् रोजन लामिछानेले राससलाई जानकारी दिए ।
काठमाडौँमा बिहीबार यस वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको भन्दै उनले विस्तारै देशभर चिसो हुने क्रम बढिरहेको बताए । उनका अनुसार काठमाडौँमा बिहीबार न्यूनतम तापक्रम ३ डिग्रीमा झरेर सोमबारको रेकर्ड तोडेको हो ।
यसअघि गत सोमबार ३.२ डिग्री मापन गरिएकामा ०.२ डिग्री झरेपछि बिहीबार यस वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको मौसमविद् लामिछानेले जानकारी दिए । बिहीबार अधिकतम तापक्रम १६.६ डिग्री मापन गरिएको ।
बिहीबार सबैभन्दा कम तापक्रम जोमसोमको रहेको लामिछानेले बताए । तराईमा बाक्लो हुस्सु र कुहिरो जारी रहने तथा हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा बादल लागेर घाम कम लाग्ने भन्दै देशभर चिसो बढ्ने क्रममा रहेको उनले बताए । यो समयमा चिसोबाट बच्न विभागले सबैमा अनुरोध गरेको छ ।