
काठमाडौं । चालु आर्थिक वर्ष (आव)को ६ महिना अवधिमा नेपालको आयात तथा निर्यात दुवै खुम्चिदा केही वस्तुको आयातमा भने ठूलो मात्रामा वृद्धि भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको छ महिना अवधिमा गत आवको तुलनामा विद्युतीय कार/जीप/भ्यान र एच.आर.सिट ठूलो मात्रामा आयात भएको हो ।
चालु आवको ६ महिनामा व्यवसायीहरुले १३ अर्ब १२ करोड बराबरको विद्युतीय कार/जीप/भ्यान आयात गरेको विभागको तथ्यांकले देखाएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १६६ प्रतिशतले बढी हो । जबकी गत आवको सोही अवधिमा व्यवसायीहरुले जम्मा ४ अर्ब ९३ करोड रुपैयाँ बराबरको मात्रै कार/जीप/भ्यानको आयात गरेका थिए ।
त्यस्तै, चालु आवमा उद्योगीहरुले विभिन्न तयारी वस्तु बनाउन प्रयोग हुने फलाम एच.आर.सिट २२ अर्ब ३६ करोड बराबरको आयात गरेका छन् । जुन अघिल्लो आवको तुलनामा ३०४.३३ प्रतिशतले बढी हो । गत आवमा उद्योगीहरुले एच.आर. सिट ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको मात्रै आयात गरेका थिए ।
विभागका अनुसार चालु आवको ६ महिनामा अघिल्लो आवको तुलनामा तयारी कपडा, मोबाइल, एलोपेथिक औषधि लगायतका वस्तुहरुको आयातमा वृद्धि भएको छ । डिजेल, एलपि ग्यास र सुनको आयत भने अघिल्लो आवको तुलनामा घटेको तथ्यांकले देखाएको छ ।
चालु आवको समीक्षा अवधिमा नेपालले ७ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँको विभिन्न वस्तुको आयात गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३.०९ प्रतिशतले कमि हो । त्यस्तै, समीक्षा अवधिमा नेपालले ७४ अर्ब ९७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ, जुन अघिल्लो आवको तुलनामा ७.२३ प्रतिशतले कमि हो । समीक्षा अवधिमा अघिल्लो आवको सोही अवधिको तुलनामा नेपालको वैदेशिक व्यापारमा संकुचन आएर २.६२ प्रतिशतले कमि आएको विभागको तथ्यांकले देखाएको छ ।