भारत निर्यातका लागि ९८ उद्योगीले लिए उत्पत्तिको प्रमाणपत्र

<p>काठमाडौं । उद्याेग विभागले विभिन्न ५ वटा उद्योगका उत्पादन भारत निर्यातका लागि उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) दिने निर्णय गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघबाट आएको सिफारिसका आधारमा विभागले पर्सामा रहेको शिवशक्ति प्याकेजिङ प्रालि पर्साले उत्पादन गर्ने प्लास्टीक सिट भारत निकासीका लागि प्रमाणपत्र दिएको हाे । उक्त बैठकले मोरङको गोल्डेन लेदर इण्डष्ट्रिज मोरङ, पर्साको [&hellip;]</p>

काठमाडौं । उद्याेग विभागले विभिन्न ५ वटा उद्योगका उत्पादन भारत निर्यातका लागि उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) दिने निर्णय गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघबाट आएको सिफारिसका आधारमा विभागले पर्सामा रहेको शिवशक्ति प्याकेजिङ प्रालि पर्साले उत्पादन गर्ने प्लास्टीक सिट भारत निकासीका लागि प्रमाणपत्र दिएको हाे ।

उक्त बैठकले मोरङको गोल्डेन लेदर इण्डष्ट्रिज मोरङ, पर्साको प्रेष्टिज म्याट इण्डष्ट्रिज, नवलपरासीको लक्ष्मी स्टील्स लिमिटेड र चितवनको ए.एस.डि.सि एशियालाई नेपालमा उत्पादित औद्योगिक उत्पादनहरु भारतमा सहुलियत निर्यात अनुमतिको प्रमाणपत्र दिएको हो ।

विभागले गत आर्थिक वर्ष ९८ वटा नेपाली उद्योगलाई भारत निर्यातका लागि उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) दिएको जनाएकोे छ ।

महासंघले गरेको सिफारिसका आधारमा उक्त उद्योगलाई प्रमाणपत्र दिइएको विभागका सूचना अधिकारी रमिला भण्डारीले जानकारी दिइन् । उनका अनुसार उद्योग विभाग भारत निकासी हुने औद्योगिक वस्तुहरुको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने जिम्मेवारी पाएको संस्था हो ।

विभाग अन्तरगतको योजना, अनुगमन तथा मूल्यांकन शाखाले उद्योगले माग गरे अनुसारको प्रमाणपत्र वितरण गर्छ । उद्योगीले सिधै मागेको आधारमा विभागले प्रमाणपत्र वितरण गर्ने भने होइन ।

नेपाल उद्योेग वाणिज्य महासंघले गरेको सिफारिसका आधारमा विभागका महानिर्देशकको अध्यक्षतामा बस्ने प्राविधिक समितिको बैठकले गरेको निर्णयका आधारमा विभागले सिफारिस गर्ने गरेको छ ।  निर्यातजन्य उद्योगको हकमा यस्तो अनुमतिपत्र उद्योग विभागले जारी गर्छ ।

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा न्यून उद्योगलाई मात्र उत्पत्तिको प्रमाणपत्र वितरण गरिएको हो । विभागले गत आर्थिक वर्ष २०७८/०७९ मा १०५ वटा उद्योगलाई प्रमाणपत्र वितरण गरेकोमा गत आर्थिक वर्ष २०७९/०८० मा कम भएको हो ।

विभागले आर्थिक वर्ष २०७७/०७८ मा ५७ वटा, आर्थिक वर्ष २०७६/०७७ मा ६५ र आर्थिक वर्ष २०७५/०७७ मा ६१ उद्योगलाई उत्पत्तिको प्रमाणपत्र जारी गरेको थियो ।

यसअघि निजी क्षेत्रका विभिन्न संघ–संगठनबाट जारी हुँदै आएको उत्पत्तिको प्रमाणपत्र जारी हुँदै आएको थियो । तर, निजी क्षेत्रका छाता संगठनले वितरण  गरेको प्रमाणपत्र विवादीत बनेपछि सरकारले विभागलाई वितरणको जिम्मा दिएको हो ।

Share News