
काठमाडौं । सामाजिक सुरक्षा कोषका अध्यक्ष एकनारायण अर्यालले वैदेशिक रोजगारीमा जाने नेपालीलाई पैसा (ऋण)को प्रबन्ध मिलाउने काम गर्ने बताएका छन् । बुधबार वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्न सुरु गरेको कार्यक्रममा बोल्दै उनले विदेश जाने श्रमीकहरुलाई आवश्यक पैसाको प्रबन्ध कोषले मिलाउने बताएका हुन् ।
‘अहिले विदेशमा रहेका नेपालीहरुलाई सूचीकरणको व्यवस्था गरेको छ, आगामी दिनमा कोषले विदेश जानका लागि पैसाको अभाव भयो भने ऋण दिने व्यवस्था पनि गर्नेछ,’ उनले भने, ‘हाल कोषले आवद्ध भएका ब्यक्तिलाई घर कर्जा, शैक्षिक कर्जा, सामाजिक कर्जा प्रदान गरिरहेको छ, कोषलाई आगामी दिनमा थप मजबुत बनाउन अन्य थप योजना ल्याइनेछ ।’
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव समेत रहेका अर्यालले वैदेशिक रोजगारीमा जाने नेपालीलाई राज्यले गर्नुपर्ने दायित्व सामाजिक सुरक्षा कोषले गर्दै आएको बताए । उनले अब हरेक रोजगारदाता वा श्रमीकहरुको सारथी सामाजिक सुरक्षा कोष बन्ने उनको भनाइ छ । सामाजिक सुरक्षा कोषले बैधानिक च्यानलबाट रेमिट्यान्स भित्र्याउने सिस्टम बसाल्ने उनले बताए ।
‘खर्बाै रुपैयाँ रेमिट्यान्स आइरहेको छ, धेरै रकम हुण्डिमार्फत् आइरहेको छ, अब विदेशमा रहेका नेपालीहरु कोषमा आवद्ध भएपछि वैधानिक च्यानलबाट आउने रेमिट्यान्स वृद्धि हुन्छ, बैधानिक माध्यमबाट रेमिट्यान्स पठाउने योगदानकर्तालाई छुटको व्यवस्था पनि मिलाइनेछ,’ उनले भने ।