काठमाडौं । सरकारको स्वामित्व रहेको संस्थाहरुमध्ये नागरिक लगानी कोषले उल्लेख्य प्रगति गरेको बुझाइ धेरैको छ । सरकारको लगानीमा सञ्चालन भइरहेको नागरिक लगानी कोषले जनताको रकमलाई एकत्रित गरेर पूँजी परिचालनको काम गर्दै आएको छ ।
२०४६ सालको आन्दोलनपश्चात् आर्थिक उदारिकरणसँगै २०४७ चैत ४ गतेका दिन स्थापना भएको कोषले छरिएर रहेको स–सानो रकमलाई संकलन गर्दै २ खर्ब रुपैयाँ पुर्याएको छ । कोषले हालसम्म जलविद्युत, बैंक, बीमा, उड्डयन लगायत क्षेत्रमा कूल २ खर्ब ५ अर्ब ४३ करोड ७९ लाख ३० हजार ४७२ रुपैयाँ लगानी गरेको हो ।
कोषले गरेको लगानी अनुसार सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा छ । कोषले हालसम्म ‘क’ वर्गका वाणिज्य बैंकहरुमा १ खर्ब ८ अर्ब १९ करोड १० लाख ९ हजार रुपैयाँ लगानी गरेको छ । जुन कूल लगानीको ५० प्रतिशतभन्दा बढी हो ।
कोषका अनुसार कर्पाेरेट डिबेञ्चर (संस्थागत ऋणपत्र)मा २४ अर्ब ३१ करोड २७ लाख २९ हजार रुपैयाँ लगानी गरेको छ भने सहायक कम्पनी (इन्भेष्टमेन्ट इन सब्सिडरी कम्पनी) मा २ अर्ब ५५ करोड रुपैयाँ लगानी गरेको छ । असार मसान्तसम्मकोषले सर्वसाधारण, संस्थापक सेयर र म्युचुअल फण्डमा४ अर्ब ६२ करोड ७५ लाख ९४ हजार ७२१ रुपैयाँ लगानी छ ।
यस्तै, कोषमा आवद्ध बचतकर्ता (सीआईटी पार्टिसिपेसन) मा भदौसम्म कूल ४३ अर्ब ७३ करोड ५० लाख ८२ हजार ९१७रुपैयाँ लगानी गरेको छ । जसमध्ये घरकर्जामा १ अर्ब ५६ करोड ४७ लाख ३६ हजार ३२८ रुपैयाँ, ८० प्रतिशत सापटीरकममा ३९ अर्ब ९५ करोड ३५ लाख ६७ हजार ९६१ रुपैयाँ, इजी लोनमा ६२ करोड ७५ लाख २३ हजार ४५८ रुपैयाँ र८० प्रतिशत सापटी (लगानीकर्ता)लाई १ अर्ब ५८ करोड ९२ लाख ५५ हजार १६९ रुपैयाँ रहेको कोषले जनाएको छ ।
स्वीकृत कर्जा अन्तर्गत कोषले विभिन्न संस्थाहरुमा १५ अर्ब ९ करोड रुपैयाँसाँवा लगानी गरेको थियो । जुन रकम बढेर २२ अर्ब २ करोड ६ लाख २६ हजार ६१७ रुपैयाँ पुगेको कोषले जनाएको छ ।
कोषले सरकार ग्यारेन्टी रहेको नेपाल एयरलायन्स कर्पाेरेशन (एनएसी)मा १२ अर्ब रुपैयाँ कर्जा प्रदान गरेको थियो । तर, समयमा कर्जा चुक्ता नगर्दा ब्याज रकम ४ अर्ब ५८ करोड १२ लाख ७१ हजार ९४५ रुपैयाँ सहित एनएसीमा कूल १६ अर्ब ५८ करोड १२ लाख ७१ हजार ९४६ रुपैयाँ कर्जा पुगेको कोषकी कामु निर्देशक सोभा श्रेष्ठले बताइन् ।
एनएसीले नियमित रुपमा पैसा नतिरेको श्रेष्ठले बताइन् । एनएसीको व्यवसाय राम्रो भएपनि कहिलेकाँही मात्रै पैसा पठाउने गरेको उनको भनाइ छ । सम्झौता बमोजिम एनएसीले विमानको टिकट बिक्रीको ३० प्रतिशत रकम विशेष खातामा जम्मा गर्नुपर्ने भएपनि त्यो लागू हुन नसकेको उनको भनाइ छ ।
‘एनएसीको जहाज निरन्तर उडिरहेको छ, साथीभाईहरुलाई टिकट चाहियो भने अग्रिम नै काट्नु परेको छ, जहाज प्याक नै भएर उडिरहेको हुन्छ तर, रेगुलर पैसा भने पठाउँदैन,’ उनले भनिन्, ‘हामीले पटक–पटक चिठ्ठी काटिरहेका हुन्छौ, अर्थमन्त्रालय, पर्यटन मन्त्रालयलाई बोधार्थ राखेर चिठी पठाएपनि केही सुनुवाई नै भएको छैन ।’
यस्तै, कोषले दीर्घकाल कर्जा अन्तर्गत माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीमा २ अर्ब ८० करोड रुपैयाँ कर्जा प्रदान गरेको थियो । उक्त रकमको ब्याज २ अर्ब ४२ करोड ४९ लाख ८४ हजार ३२८ रुपैयाँ गरी कूल ५ अर्ब ४३ करोड ९३ लाख ५४ हजार ६७१ रुपैयाँ पुगेको छ ।
नागरिक लगानी कोषको तथ्याङ्क अनुसार नेपाल टेलिकम, अपर तामाकोशी, एनआईबि र एचआईडीसिएलको ८ लाख ८८ हजार २१६ रुपैयाँ बराबरको सेयर खरिद गरेको छ ।
कामु निर्देशक श्रेष्ठका अनुसार लगानी गरिएका संस्थाहरुमध्ये जनक शिक्षा सामाग्रीले भने समयमा नै चुक्ता गर्ने गरेको छ । हाल कोषले जनक शिक्षालाई २९ करोड रुपैयाँ कर्जा दिएको छ । यसअघि पनि लिएको कर्जा भुक्तानी गरिसकेको उनको भनाइ छ ।
‘जनक शिक्षा सामाग्रीले कोषसँग थप कर्जा माग गरेको छ, पुरानो कर्जा चुक्ता गर्दै नयाँ कर्जा लिइरहेको हुन्छ, जनक शिक्षा सामाग्री केन्द्र सीआईटीको राम्रो क्लाइन्ट हो,समयमा कर्जा चुक्ता गरेको हुन्छ,’ उनले भनिन्, ‘जनक शिक्षा सामाग्रीले किताब छाप्ने बेलाकर्जा माग गरेपछि फेरी दिन्छौं, उनीहरुले किताब बेचेपछि हामीलाई तिर्छ ।’
पौने ७६ अर्ब रकम डुब्यो
कोषले विभिन्न फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा गरेको लगानी फसेको हो । कोषका अनुसार समस्याग्रस्त मुद्दतीमा ७५ करोड ७१ लाख ८३ हजार ५७४.३० रुपैयाँ फसेको हो । जुन रकम उठ्ने सम्भावन न्यून छ ।
हिमालयन फाइनान्स, कृष्टल फाइनान्स, क्यापिटल मर्चेन्ट बैंक एण्ड फाइनान्स र नेपाल सेयर मार्केट फाइनान्समा उक्त रकम डुबेको श्रेष्ठले बताइन् । उनका अनुसार उक्त रकम फिर्ता आउने आशा न्यून छ । अन्य तीन वटा संस्थाहरुमा गरेको लगानी फिर्ता आउने झिनो आशा भएपनि हिमालयन फाइनान्सको मुद्दती निक्षेपमा गरेको लगानी भने डुबेको कामु निर्देशक श्रेष्ठले बताइन् ।
‘हिमालयन फाइनान्सको रकम डुबिसक्यो, अन्य फाइनान्समा फिर्ता आउने झिनो आशा छ, क्यापिटल मर्चेन्टको लाइबिलिटीज भन्दा एसेट बढी छ, सेयर मार्केट पनि कमजोर संस्था होइन, राष्ट्र बैंकसँगको मुद्धा मामिलाले गर्दा समस्यामा परेको हो, हिमालयन फाइनान्स लिक्विडिसनमा गयो, कृष्टल फाइनान्सको एउटा भवन छ, त्यो भव बिक्री भएपछि पैसा आउने आशा छ,’ उनले भनिन् ।