काठमाडौं । विद्युत नियमन आयोगले विभिन्न ३ वटा आयोजनाको सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले आयोग समक्षा पेश गरेको विभिन्न आयोजनाको सार्वजनिक सुनुवाई हुने आयोगले जनाएको हो ।
एससी पावर कम्पनीले प्रवद्र्धन गरेको कालिकोटको तिला गुफा गाउँपालिका, महाबु गाउँपालिका र खाडाचक्र नगरपालिका स्थित २९८.७५ मेगावाटको तिला १ जलविद्युत आयोजना र २९६.७४ मेगावाटको तिला २ जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई हुने भएको हो ।
यस्तै, जगदुल्ला हाईड्रोपावर कम्पनीले निर्माण गरेको जगदुल्ला र मुड्केखोला गाउँपालिका डोल्पामा रहेको १०६ मेगावाटको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतको खरिदबिक्री दर निर्धारणका लागि सुनुवाई हुने आयोगले बताएको छ ।
विद्युत खरिद सम्झौतामा सहमतिको लागि पेश भएको निवेदन उपर छलफल गर्न आयोगले चैत ८ गते सार्वजनिक सुनुवाइ गर्ने भएको हो । विद्युत विकास विभागको सभाहल सानो गौचरण काठमाण्डौंमा बुधबार ११ बजे देखि ५ बजेसम्म कार्यक्रम हुनेछ ।
कार्यक्रममा उपभोक्ता, उद्योगी, व्यवसायी, स्थानिय बासिन्दा, प्रतिनिधिमूलक संस्थाहरु, संचार माध्यम, स्थानीय तहका प्रतिनिधि तथा सरोकारवालाहरुलाई सहभागी हुन आयोगले आग्रह गरेको हो । साथै, सरोकारवालाहरुले आयोगको कार्यालयमा राय, सुझाव तथा प्रतिकृया पेश गर्न पनि अनुरोध गरेको छ ।