काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणले (क्यान) विगत लामो समयदेखि बन्द भएका वायुसेवा कम्पनीका सञ्चालकको खोजी थालेको छ । क्यानले तत्कालीन समयमा अन्तराष्ट्रिय तथा आन्तरिक उडानमा प्रयोग भएको सात वटा वायुसेवा कम्पनीले सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाएपछि सञ्चालकको खोजी गर्न सूचना प्रकाशन गरेको छ ।
आईतबार क्यानले सार्वजनिक सूचना प्रकाशन गर्दै लामो समयदेखि बन्द रहेका सात वटा वायुसेवा कम्पनीका तत्कालीन सञ्चालकलाई बक्यौता रकम सहित सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।
तीन पटकसम्म सार्वजनिक रुपमा नै सूचना प्रकाशन गर्दा ७ वायुसेवा कम्पनीका सञ्चालकले अटेरी गरेको भन्दै प्राधिकरणले सातदिनभित्र सम्पर्कमा आउन निर्देशन जारी गरेको हो ।
प्राधिकरणले यसअघि २०७६ को असोज ७ गते, २०७७ को माघ २६ गते र २०७८ को भदौ १२ गते सूचना प्रकाशन गरेको थियो ।
नागरिक उडड्यन प्राधिकरण ऐन, २०५३ को दफा २७ बमोजिम सरकारी बाँकी सरह प्राधिकरणले असुल उपर गर्न पाउने अधिकार प्राधिकरणमा सुरक्षित रहेको साथै विमानस्थल सेवा शुल्क नियमावली २०६७ को नियम ३० (३) अनुसार कालोसूचिमा राख्ने सूचनामा उल्लेख गरिएको छ ।
सात दिनभित्र समेत सम्पर्कमा नआए प्राधिकरणले प्राधिकरणसँग सम्बद्ध कुनै पनि निकायमा अयोग्य रहनेगरी कालोसूचिमा राख्ने जनाएको छ ।
यस्तै, प्राधिकरणले तोकिएको समयभित्र सम्पर्कमा नआए कालोसूचिमा राख्दै बक्यौता रकम चल अचल जायजेथाबाट असुल उपर गर्दै बैंक खाता रोक्का गर्ने तथा नेपाल बाहिर जान नपाउने गरी राहदानी समेत रोक्का राख्ने जनाएको छ ।
उक्त सूचना अनुसार नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउण्टेन एयर, कस्मिक एयर, स्काईलाईन एयरवेज र एयर काष्ठमण्डप रहेका छन् । ७ वटा कम्पनी मध्येमा सबैभन्दा धेरै बक्यौता रकम नेकोन एयरको रहेको छ । उक्त एयरको बक्यौता रकम ४ करोड ७२ लाख २५ हजार बढी रहेको छ ।
नेकोन पछि कस्मिक एयरको ३ करोड ४७ लाख ५८ हजार, शिवानी एयरको ५५ लाखा ५१ हजार, गोरखा एयरको २० लाखा ३५ हजार रहेका छन् ।
कसरी बन्द भए सञ्चालनमा रहेका वायुसेवा कम्पनी ?
तत्कालीन समयमा अन्तराष्ट्रिय तथा आन्तरिक उडानमा राम्रो नाफा कमाएका वायुसेवा कम्पनीहरु पछिल्लो समय बन्द रहेका छन् । एकले अर्काको सिको गर्दै बिना अध्यन तथा अनुभव बिनै वायुसेवा कम्पनी खोल्न प्रतिस्पर्धा गर्दा धेरै वायुसेवा कम्पनीहरु असफल भएका जानकारहरु बताउँछन् ।
जसमा अन्तराष्ट्रिय तथा आन्तरिक उडान गरेर नाफा कमाउने मध्ये एक हो नेकोन एयर । प्राधिकरणबाट सन् १९९६ मार्च २१ मा एओसी (एयर अपरेटर सर्टिफिकेट) पाएको उक्त कम्पनीले सुरुआती चरणमा अन्तराष्ट्रिय तथा आन्तरिक उडान गरेको थियो । १३ वटा वायुसेवा कमपनीबाट उडान गरेको नेकोन नाफामा गएपछि प्राथमिक सेयर निष्कासन गरे पश्चात नोक्सानमा गएर व्यवसाय नै बन्द भएको थियो ।
प्राधिकरणले सार्वजनिक गरेको सूचना अनुसार २०६० साल कात्तिक ९ गते बसेको नोकोन एयरको सञ्चालक समितिको १३० औं बैठकबाट उक्त एयरको अध्यक्ष प्रबन्ध सञ्चालक दिपमणी राजभण्डारी, उपाध्यक्ष मकुन्दभक्त श्रेष्ठ, सञ्चालकमा दिपकराज कोइराला, रविन्द्र श्रेष्ठ, मृगेन्द्र जोशी र रबीचन्द्रमान श्रेष्ठ चयन भएका थिए ।
यस्तै, शिवानी एयरमा मणिन्द्रलाल रंजितकार, गोरखा एयरमा प्रज्वल श्रेष्ठ, डा उज्वल श्रेष्ठ, गिन्नी बाबा श्रेष्ठ र सूर्य प्रसाद श्रेष्ठ रहेका छन् ।
माउण्टेन एयरमा प्रज्ञान शमसेर जबरा, सिद्धिदा राणा र शिवेन्द्र बहादुर बस्नेत, कस्मिक एयरमा क्यापटेन रविन्द्र प्रसाद प्रधान, तथा स्काईलाईन एयरवेजको कार्यकारी अध्यक्ष आंग छिरिङ शेर्पा, उपाध्यक्ष मिङमा दोर्जे शेर्पा, सञ्चालक पेम्बा छिरिङ शेर्पा, प्रबन्ध सञ्चालक तेन्जीङ नाेर्बु शेर्पा, सञ्चाकलमा यादव खरेल, विक्रम पाण्डे, केदार वहादुर प्रधानागं र उत्तम कृष्ण खरेल रहेका थिए ।
एयर काष्ठमण्डपमा प्रज्वल श्रेष्ठ, उज्वल श्रेष्ठ र कतारी नागरिक हमाद अली जावोर सञ्चालक थिए ।
