काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन भइरहेको १४ औं नाडा अटो शोमा १४ ब्राण्डका पेट्रोलबाट चल्ने र ४ वटा ब्राण्ड विद्युतीय (इलेक्ट्रिक) मोटरसाइकल(बाइक) सहभागी भएका छन् । नाडा अटो शोमा प्रदर्शनमा राखिएका बाइकहरु मध्ये सबैभन्दा एमभी अगस्टाको एफ फो ९९८ सिसिको बाइकको मूल्य ६१ लाख ९० हजार तोकिएको छ ।
नाडा अटो शोमा सबैभन्दा सस्तो चीनमा बनेको भिइमा कम्पनीको एसडी वानको बाइक रहेको छ । जसको मूल्य १ लाख ४९ हजार रुपैयाँ रहेको छ । यो बाइक ४ घन्टा चार्ज गर्दा फुल चार्ज हुन्छ । एक पटक फुल चार्ज गर्दा सय किलोमिटर चल्ने कम्पनीले जानकारी दिएको छ ।
पेट्रोलबाट चल्ने बाइकमा सबैभन्दा सस्तो रनर मोटर्सको ८० सिसिको बाइक टिआर रहेको छ । जसको मूल्य १ लाख ५२ हजार रहेको छ ।
यता, विद्युतीय बाइकमा सबैभन्दा महङ्गो चीनमा बनेको जीनीएस कम्पनीको एक्स ५४ र डब्लु ५४ बाइकको रहेको छ । सो बाइकको मूल्य ३ लाख ७८ हजार रहेको छ । यी बाइकहरु ४ घन्टामा फुल चार्ज हुने र एक पटक चार्ज गरेपछि १ सय किलोमिटर गुड्ने कम्पनीले जानकारी दिएको छ ।
इलेक्ट्रिक स्कुटरमा सबैभन्दा सस्तोे चीनमा बनेको जीनीएस कम्पनीको सियु प्लस हो । जसको मूल्य २ लाख ३८ हजार रहेको छ । सबैभन्दा महङगोमा चिनियाँ कम्पनी नियुले उत्पादन गरेको एनजीटी विद्युतीय स्कुटर रहेको हो । जसको मूल्य ३ लाख ९८ हजार ८८८ रहेको छ ।
विद्युतीय सवारी साधन, त्यसका आवश्यक उपकरण, व्याट्री तथा पार्टपूर्जामा लाग्दै आएको भन्सार शुल्कलाई शून्य प्रतिशतमा झर्ने र पेट्रोल, डिजलबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा रूपान्तरण गर्न वैधता प्रदान गरिएपछि यस्ता सवारीको माग बढेको हो ।
सन् १९९३ देखि विद्युतीय सवारी प्रयोग
नेपालमा विद्युतीय सवारी साधनको प्रयोग सन् १९९३ देखि हुन थालेको हो । उपत्यकामा सञ्चालित बिक्रम टेम्पोले प्रदूषण बढाएपछि विकल्पका रुपमा अमेरिकी सहयोग नियोगको सहयोगमा ७ वटा ब्याट्रीबाट सञ्चालन हुने सफा टेम्पो सञ्चालनमा ल्याइएको थियो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा शुरु भएको नाडा अटो शोको उद्घाटन गर्दै नेपालमा विद्युतीय गाडी (एसेम्बलिङ) बनाउने उद्योगहरुलाई सरकारले २५ प्रतिशत अनुदान दिने बताएका थिए ।

विद्युतीय स्कुटर