काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले ऋण लिएर गाडी नचढ्न सुझाव दिएका छन् । नाडा अटो शोमा प्रमुख अतिथीका रुपमा आफ्ना धारणा राख्दै उनले ऋण लिएर गाडी नचढ्न सुझाव दिएका हुन् । ‘’ऋण लिएर गाडी नचढ्नुस, यसले न व्यक्तिलाई फाइदा गर्छ न त देशलाई नै । नगदै तिर्न सक्ने क्षमता बनाएपछि मात्रै गाडी चढ्नुस’, अर्थमन्त्री डा. खतिवडाले भने ।
नाडा अटो शोमा बैंक तथा वित्तिय संस्थाहरु मार्फत किस्ता बन्दीमा गाडी खरिद हुँदै आएको छ । गाडी बिक्रेता कम्पनीहरुले पनि बैंकहरुसँग सहकार्य गरेर किस्ता बन्दीमा गाडी बेच्दै आएका छन् । ९० प्रतिशत सवारी साधनहरु बैंकबाट ऋण लिएरै खरिद हुने गरेका छन् । हाल बैंकहरुले ३५ प्रतिशत डाउन पेमेन्ट तिरेर गाडीका लागि ऋण दिँदै आएका छन् । अर्थमन्त्रीले नै ऋण लिएर गाडी नचढ्नुस् भनेपछि व्यवसायी तथा बैंकहरु भने झस्किएका छन् ।
मन्त्री डा. खतिवडाले गोरखकाली टायर उद्योग पुनः सञ्चालनको तयारी भैरहेको बताउँदै सवारी साधनका नक्कली पार्टपूर्जाहरुको आयातमा कडाई गर्ने पनि बताए ।
उनले अटोमोबाइल क्षेत्रले मुलुकको राजश्वमा १५ प्रतिशत योगदान दिएको बताउँदै त्यस्तो क्षेत्रको विकासमा सरकार सम्वेदनशिल रहेको दावी पनि गरे । मन्त्री खतिवडाले विद्युतिय सवारी साधन र ठूला सवारीहरुको आयातमा सरकारले बिशेष सहुलियत दिएको र त्यस्तो सहुलियतलाई निरन्तर बनाउने प्रतिवद्धता पनि व्यक्त गरे ।
उनले करको दर र दायरा घटाएर देशको विकास गर्ने सिद्धान्त अर्थशास्त्रमा कहिं पनि नभएको समेत स्पष्ट पारे । मन्त्री खतिवडाले आफु स्पष्ट वक्ता भएकाले सत्य मात्रै बोल्ने बताउँदै सत्य कुरा गर्दा गाली गरे सहन तयार परेको पनि बताए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले अटोमोबाइल क्षेत्रप्रति सरकारको दृष्टिकोण नकारात्मक रहेको बताएकी छिन् ।