दोहोरो अंकले घट्यो बजार, गुमाउनेसँगै बढी कारोबार गर्नेको अग्रस्थानमा गुडविल फाइनान्स

  २०७८ श्रावण १४ गते ३:३२       विकासन्युज

काठमाडौं । पछिल्लो दुई दिन लगातार बढेको नयाँ नयाँ रेडर्क राखेको सेयर बजारमा ब्रेक लागेको छ । बिहीबारको बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकमा दोहोरो अंकको करेक्सन देखिएको हो ।

कारोबार शुरु भएदेखि ओरालोको बाटो तय गरेको बजार अन्ततः १५.१३ बिन्दुले घटेर ३०७९.८२ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.४९ प्रतिशतले घटी हो ।

बजारमा कूल १० अर्ब ९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनाम ३ अर्ब १० करोड रुपैयाँ घटी हो । अघिल्लो दिन अर्थात साउन १३ गतेको बजारमा कूल १३ अर्ब ९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आज २१७ कम्पनीको सेयर कारोबार भएको थियो । जसमध्ये सबैभन्दा बढी गुडविल फाइनान्स कम्पनीको उच्च कारोबार भएको छ । फाइनान्सको एकैदिन ३३ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कारोबार मात्रै नभएर बढी गुमाउनेको अग्रस्थानमा पनि गुडविल फाइनान्स नै रहेको छ । जसको सेयर मूल्य ६३ रुपैयाँले घटेर प्रतिकित्ता ७९७ रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ७.३३ प्रतिशतले घटी हो ।

बिहीबार रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य ९.९५ प्रतिशतले बढेर प्रतिकित्ता ७२९ रुपैयाँ पुगेको छ ।

बिहीबार विकास बैंक र होटल समूह बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । यी समूह भने क्रमशः ५३.४० र ४५.४१ अंकले उकालो लागेका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ८६ अंकले ओरालो लागेको छ ।