परिसूचक र कारोबार दुबै घट्दा दुई म्युचुअल फण्डको मूल्यमा सर्किट

  २०२६ पौष १७ गते ५:३०       विकासन्युज

काठमाडौं । मंगलबारको सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । दिनभरको कारोबारमा करिब ३० अंकको उतारचढाव देखिएको हो ।

बजार खुल्दा नेप्से परिसूचक सामान्य अंकले उकालो लागेर ३००५.७३ (दिनभरको उच्च) बिन्दुमा पुगेको थियो । त्यसको १५ मिनेटमै एकाएक घटेर २९७४ बिन्दुमा झरेको थियो । जुन दिनभरकै न्युनतम बिन्दु हो । त्यसपछिको कारोबार पुनः बढेर ३००२ बिन्दुमा पुग्यो र पुनः घट्ने बढ्ने भएर अन्ततः बजार बन्द हुँदा परिसूचक २९८५.५७ बिन्दुमा अडिएको छ । जुन अघिल्लो दिनको तुलनामा ०.३० प्रतिशत अर्थात ९.०१ अंकले घटी हो ।

सो दिन परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । सोमबार ११ अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको बजारमा मंगलबार भने जम्मा ७ अर्ब ८९ करोडको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनमा ३ अर्ब ९२ करोड रुपैयाँले घटी हो ।

मंगलबार २१९ कम्पनीको सेयर कारोबार भएको थियो । जसमध्ये सबैभन्दा बढी अरुण काबेली पावरको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन ३८ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २६ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

घटेको बजारमा पनि दुई फण्डका मूल्यमा सर्किट लागेको छ । सो दिन लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फण्ड दुबै योजनाको इकाई मूल्य १० प्रतिशतले बढेको छ । लक्ष्मी उन्नतिले २५ प्रतिशत लाभांश घोषणा गरेसँगै त्यसको मूल्य बढेको हो । यससँगै यी दुईको इकाई मूल्य बढेर क्रमशः प्रतिइकाई १४.२५ र १६.०५ रुपैयाँ पुगेको छ ।

यी बाहेक बजारमा टप गेनरको टप टेनको सूचीमा अधिकांश म्युचुअल फण्ड रहेका छन् ।

बजारमा केही समूह हरिया देखिएका छन् भने केही राताम्मे देखिएका छन् । ट्रेडिङ् समूह सबैभन्दा बढी १२६ अंकले उकालो लागेको छ भने निर्जीवन बीमा समूह १८८ अंकले ओरालो लागेको छ ।