उच्च बिन्दुमा पुगेर फिर्कियो नेप्से, बढी कारोबार गर्नेको अग्रस्थानमा तीन वाणिज्य बैंक

  २०७८ श्रावण ४ गते ३:२६       विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजार दोहोरो अंकले बढेको छ । बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको नेप्से परिसूचक अन्ततः २९९४.४२ बिन्दुमा फिर्किएको छ । जुन अघिल्लो दिनको तुलनामा ०.४६ प्रतिशत अर्थात १३.८० अंकले बढेको हो ।

सो दिन नियमित कारोबार खुलेको ६ मिनेटमै हालसम्मकै उच्च बिन्दु ३०३२ मा पुगेको थियो । त्यसपछिको कारोबारमा भने बजारमा उतारचढाव देखिएको थियो । अन्ततः बजार बन्द हुँदा परिसूचक दोहोरो अंकले बढेको छ ।

बजारमा परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो दिन ११ अर्ब ६३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा आज भने ११ अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सो दिन बढी कारोबार गर्नेको अग्रस्थानमा वाणिज्य बैंक अगाडि रहेको छ । बजारमा एनआईसी एशिया, नबिल र नेपाल बङ्गलादेश बैंक बढी कारोबार गर्नेको अग्रस्थानमा रहेका छन् । जसमध्ये सबैभन्दा बढी एनआईसी एशिया बैंकको उच्च कारोबार भएको छ । बैंकको एकैदिन ३५ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता १०४४ रुपैयाँ रहेको छ ।

त्यस्तै, दोश्रोमा नबिल र तेश्रोमा नेपाल बङ्गलादेश रहेका छन् । यी दुईको क्रमशः ३३ करोड १८ लाख रुपैयाँ र ३१ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सो दिन सबैभन्दा बढी सिनर्जी पावर डेभलपमेन्टको सेयर मूल्य बढेको छ । संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५१४ रुपैयाँ पुगेको छ । त्यस्तै, विशाल बजारको सेयर मूल्य ९.२० प्रतिशतले बढेर ६१७० रुपैयाँ पुगेको छ ।