नेप्से बढ्दा कारोबार घट्यो, एनबी बैंक तीन शीर्षकमा अगाडि, टप गेनरमा फाइनान्समात्रै

  २०७८ आषाढ़ २९ गते ३:४४       विकासन्युज

काठमाडौं । देशको प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नियुक्तीलाई सेयर बजारले स्वागत गरेको छ । सोमबारको सर्वोच्चको परमादेशसँगै मंगलबार प्रधानमन्त्री पदमा नियुक्त भएका देउवालाई मंगलबारको बजारले हरियालीका साथ स्वागत गरेको हो ।

सोमबार ४५ अंकले घटेको बजार मंगलबार भने १६.३४ अंकले बढेर २८७१.०३ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५७ प्रतिशतले बढी हो ।

बजारमा नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन करिब १० अर्बको कारोबार भएको बजारमा मंगलबार भने ५ अर्ब ५४ करोड रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको छ । मंगलबार २२३ कम्पनीको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता सेयर किनबेच भएको छ ।

जसमध्ये सबैभन्दा बढी नेपाल बङ्गलादेश(एनबी) बैंकको उच्च कारोबार भएको छ । बैंकको एकैदिन ४५ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य पनि बढेर प्रतिकित्ता ४३९ रुपैयाँ पुगेको छ ।

मंगलबारको बजारमा एनबी बैंक तीन शीषर्कमा अग्रस्थानमा रहेको छ । टप गेनर, टप भोल्युम र टप ट्रयान्ज्याक्सनमा एनबी बैंक अन्यभन्दा शीर्ष स्थानमा रहेको छ । बैंकको एकैदिन ३ हजार ३६७ पटकमा १ लाख ४८ हजार ६०५ कित्ता सेयर ४५ करोड ४७ लाख रुपैयाँ बराबरमा किनबेच भएको हो । जुन अन्यभन्दा बढी हो ।

त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स र तेश्रोमा एनआईसी एशिया बैंक रहेका छन् । यी दुई कम्पनीको क्रमशः २३ करोड ३५ लाख र १९ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

मंगलबार टप गेनरको शीर्ष ५ स्थानमा सबै फाइनान्स कम्पनी मात्रै रहेका छन् । यी कम्पनीको सेयर मूल्य न्युनतम ६.५२ प्रतिशतदेखि अधिकतम ६.९८ प्रतिशतसम्मले बढेको छ । सबैभन्दा बढी सेन्ट्रल फाइनान्सको सेयर मूल्य ६.९८ प्रतिशतले बढेको छ । त्यस्तै, समृद्धि फाइनान्स कम्पनीको ६.७९, मञ्जुश्री फाइनान्सको ६.६६, प्रोगेशिभ फाइनान्सको ६.५९ र आईसीएफसी फाइनान्सको सेयर मूल्य ६.५२ प्रतिशतले बढेको छ ।

आज सानिमा लार्ज क्याप फण्ड सबैभन्दा बढी प्रतिशतले घटेको छ । उक्त फण्डको इकाई मूल्य ३.०८ प्रतिशतले घटेर प्रतिइकाई १०.८ रुपैयाँमा झरेको छ ।

बजारमा जीवन बीमा समूह बाहेक बाँकी समूह हरियाली देखिएका छन् । जीवन बीमा समूह भने ६६.१९ अंकले घटेको छ ।