बोर्डको विज्ञप्तिपछि सेयर बजारमा लगातार पहिरो, एकैदिन ६३ अंकले घट्यो नेप्से, सबै समूह राताम्मे

  २०७८ आषाढ़ ६ गते ३:३७       विकासन्युज


काठमाडौं । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बाेर्डले जारी गरेकाे विज्ञप्तिपछि सेयर बजार दैनिक रूपमा ओरालो लागेको छ । उक्त विज्ञप्तिसँगै लगानीकर्ता डराएर प्यानिक सेल गर्न थालेसँगै बजारमा उच्च गिरावट आएको हो ।

साताको पहिलो दिनको बजारमा नेप्से परिसूचक ६३.११ अंकले ओरालो लागेर २९०५.३२ बिन्दुमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २.१३ प्रतिशतले घटी हो । विज्ञप्ति अघि ३००० बिन्दु पार गरेको परिसूचक झरेर २९०० बिन्दुमा सीमिति भएको छ ।

त्यस्तै, आइतबारको बजारमा११ अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कूल २३१ कम्पनीको २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ८० करोड ९९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

आइतबारको बजारमा सबै समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ३४२ अंकले ओरालो लागेको छ ।

सो दिन सबैभन्दा बढी यूनियन हाइड्रोपावरको सेयर मूल्य ९.८१ प्रतिशतले घटेको छ भने गुराँस फाइनान्सको सबैभन्दा बढी अर्थात ५.४१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

बोर्डले गत असार १ गते ५१ वटा कम्पनी जोखिमयुक्त भन्दै जारी गरेको थियो । जसले गर्दा लगानीकर्ता डराएर सेयर बेच्न थालेसँगै बजारमा गिरावट आएको हो ।