५२ अंकले घट्यो नेप्से, १५ अर्बको कारोबार, १३ कम्पनीमा नेगेटिभ सर्किट

  २०७८ आषाढ़ २ गते ३:४६       विकासन्युज

काठमाडौं । बुधबारको सेयर बजार ५२.३९ अंकले घटेर २९६९.७२ बिन्दुमा झरेको छ । पछिल्लो समय निरन्तर बढेर ३००० बिन्दु पार गरिसकेको नेप्से आज भारी अंकले घटेर २९६९.७२ बिन्दुमा सीमित भएको छ ।

मंगलबार सामान्य करेक्सन देखिएको बजार बुधबार उच्च अंकले घटेको छ । कारण एउटै हो नेपाल धितोपत्र बोर्डको विज्ञप्ति । बोर्डले मंगलबार ५१ कम्पनीमा जोखिम हेरेर लगानी गर्नु भनेर नामसहित कम्पनीको विवरण प्रकाशित गरेसँगै बुधबारको बजारमा प्यानिक प्रष्टै बुझिन्छ । बाेर्डकाे उक्त विज्ञप्तीसँगै लगानीकर्ताहरू डराएर प्यानिक सेल गरेकाले बजारमा गिरावट आएकाे हाे ।

बजारमा नेप्से परिसूचकमात्रै नभई कारोबार रकम पनि घटेको छ । मंगलबार साढे १६ अर्बको सेयर कारोबार भएको बजारमा बुधबार भने १५ अर्ब ४८ करोडको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ४ करोड रुपैयाँले घटी हो । साथै, कम्पनीको कारोबार संख्या घटेसँगै कारोबार रकममा पनि गिरावट आएको बुझिन्छ । अघिल्लो दिन २२६ कम्पनीको कारोबारमा आएका थिए भने बुधबार मात्र २१९ कम्पनीको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

कूल २१९ कम्पनीमध्ये नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ६० करोड ९० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता १८५८ रुपैयाँमा भएको छ । जुन अघिल्लो दिनको तुलनामा घटी हो ।

बुधबार कूल १३ वटा कम्पनीको सेयर सर्किट लेभलमा(अर्थात ९.५ प्रतिशत बढीले) घटेर कारोबार भएको छ । जसमध्ये ६ वटा फाइनान्स कम्पनी रहेका छन् भने बाँकी हाइड्रो कम्पनी रहेका छन् । सबैभन्दा बढी जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९४ प्रतिशतले घटेको छ ।

उच्च अंकले घटेको बजारमा पनि सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य ९.९० प्रतिशतले बढेर प्रतिकित्ता ७३३ रुपैयाँमा कारोबार भएको छ ।