साढे ३ हजार बिन्दुमा पुगेर फर्केको नेप्सेमा रेकर्ड कायमै, नेपाल इन्स्योरेन्ससहित १२ कम्पनीमा सर्किट

  २०७८ ज्येष्ठ ३१ गते ३:४७       विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजारमा नेप्से परिसूचकले नयाँ रेकर्ड राखेको छ ।सेयर कारोबार मापक नेप्से परिसूचक ४२.७२ अंकले उकालो लागेर ३०२५ बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो ।

सो दिन कारोबार खुलेको पौने घण्टामा नेप्से परिसूचक ३०५० बिन्दुसम्म पुगेको थियो । त्यसपछिको कारोबारमा भने परिसूचक सम्हालियो र अन्ततः ३०२५ बिन्दुमा अडेको छ । जसले अघिल्लो दिनको २९८३.११ बिन्दुको रेकर्डलाई तोड्न सफल भएको छ ।

आइतबारको तुलनामा परिसू्चकमा सुधार देखिएपनि कारोबार रकम भने घटेको छ । आइतबार १९ अर्ब ५५ करोडको सेयर कारोबार भएको बजारमा सोमबार भने १८ करोड ८८ लाख रुपैयाँ बराबरको मात्रै सेयर किनबेच भएको छ ।

सोमबार २२१ कम्पनीको ३ करोड ५० लाख २७ हजार ३६३ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन ६२ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बजारमा नेपाल इन्स्योरेन्ससहित १२ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमध्ये नेपाल इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ११४४ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १०४ रुपैयाँले बढी हो ।

त्यस्तै, सेयर मूल्य सर्किट लाग्नेमा अधिकांश हाइड्रो कम्पनी रहेका छन् भने केही होटल कम्पनी पनि रहेका छन् । सोमबार सबैभन्दा बढी माउन्टेन हाइड्रोको सेयर मूल्य ५.०१ प्रतिशतले घटेर प्रतिकित्ता ३९८ रुपैयाँमा झरेको छ ।