पुँजी बजारमा रेकर्ड ब्रेकः नेप्से ३ हजार नजिक, एकैदिन साढे १९ अर्बको सेयर किनबेच

  २०७८ ज्येष्ठ ३० गते ३:२१       विकासन्युज

काठमाडौं । आइतबारको सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैले यसअघिको रेकर्डलाई ब्रेक गर्दै नयाँ रेकर्ड राख्न सफल भएका छन् ।

आज (जेठ ३० गते) सेयर कारोबार मापक नेप्से परिसूचक ३ हजार बिन्दु नजिक पुगेको छ । बजारमा नेप्से परिसूचक ३८.३२ अंकले बढेर २९८३.११ बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो ।

त्यस्तै, बजारमा १९ अर्ब ५५ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जुन हालसम्मकै उच्च कारोबार हो । सो दिन २२० कम्पनीको ३ करोड ७० लाख कित्ता सेयर खरिद बिक्री भएको छ ।

बजारमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको एकैदिन ७२ करोड २९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ५७४ रुपैयाँ पुगेको छ ।