एचआईडीसीएलको उच्च कारोबार, एक फाइनान्ससहित १२ हाइड्रोको सेयरमा सर्किट

  २०७८ ज्येष्ठ २७ गते ३:४१       विकासन्युज

काठमाडौं । साताको अन्तिम कारोबारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा सेयर कारोबार मापक परिसूचक सामान्य अंकले घटेको छ भने कारोबार रकम ८९ करोड रुपैयाँले घटेको छ ।

तीव्र उतारचढाव देखिएको बिहीबारको बजारमा नेप्से परिसूचक घटेर २९२७.११ बिन्दुसम्म झरेको थियो । अन्ततः बजार बन्द हुँदा परिसूचक १.८० अंकले घटेर २९४४.७८ बिन्दुमा अडिएको छ । जुन अघिल्लो दिनको तुलनामा ०.०६ प्रतिशतले घटी हो ।

त्यस्तै, बजारमा १६ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ८९ करोड रुपैयाँले घटी हो । बुधबारको बजारमा कूल १६ अर्ब ९९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

बजारमा २२० कम्पनीको सेयर कारोबार भएको थियो । जसमध्ये सबैभन्दा बढी हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)को सेयर किनबेच भएको छ । कम्पनीको एकैदिन ९९ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । कम्पनीले शतप्रतिशत हकप्रद प्रयोजनको लागि भोलि अर्थात जेठ २८ गतेदेखि बुक क्लोज गर्ने भएको छ । यससँगै आजसम्म सेयर किन्ने तथा होल्ड गर्नेले कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् । त्यसैले पनि कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको हो । बिहीबारको बजारमा कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ५८६ रुपैयाँमा भएको थियो ।

बजारमा हाइड्रो कम्पनीमा उछाल आएको छ । सो दिन १३ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । जसमध्ये एक फाइनान्स र बाँकी सबै हाइड्रो रहेका छन् । त्यसमा पनि सबैभन्दा बढी पाँचथर पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३८५ रुपैयाँ पुगेको छ । त्यस्तै, पोखरा फाइनान्सको सेयर मूल्य ९.८६ प्रतिशतले बढेर प्रतिकित्ता ७१३ रुपैयाँ पुगेको छ । साथै, अन्य ११ हाइड्रो कम्पनीकाे सेयर सर्किट लेभलमा काराेबार भएकाे हाे ।

बिहीबार सबैभन्दा बढी गुराँस फाइनान्सको सेयर मूल्य ४.२५ प्रतिशतले घटेर प्रतिकित्ता १३३० रुपैयाँमा झरेको छ ।