नयाँ उचाईंमा पुगेको बजारमा ३४ कम्पनीका लगानीकर्ताको सम्पत्ति १० प्रतिशतले बढ्यो

  २०७८ ज्येष्ठ २५ गते ३:३८       विकासन्युज

काठमाडौं । मंगलबारको नेप्से परिसूचक नयाँ उचाईंमा पुगेको छ । सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक ५३.४४ अंकले बढेर २९६०.१४ बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो भने अघिल्लो दिनको तुलनामा १.८४ प्रतिशतले बढेको हो ।

बजारमा कूल १६ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन २१६ कम्पनीको ३ करोड ५७ लाख कित्ता सेयर सो मात्रमा खरिद भएको हो ।

जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । पछिल्लो समय दिनकै उच्च कारोबार भइरहेको कम्पनीको मंगलबार मात्रै एक अर्ब ६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता १९७७ रुपैयाँमा भएको हो । जुन हालसम्मकै अधिकतम मूल्य हो ।

यी कम्पनीकाे सेयर मूल्य १० प्रतिशतले बढ्याे
नयाँ उचाईमा पुगेको बजारमा ३४ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये ७ कम्पनीको सेयर मूल्य १०र१० प्रतिशतले बढेको छ भने बाँकी २७ कम्पनीको सेयर मूल्य ९.५ प्रतिशत बढीले बढेको छ । सबैभन्दा बढी फाइनान्स कम्पनीका लगानीकर्ताको भर्च्युअल सम्पत्ति बढेको छ ।

बजारमा होटल्स्, इन्भेष्टमेन्ट र माइक्रोफाइनान्स समूह ओरालो लागेका छन् भने कारोबारमा आएका बाँकी समूह उकालो लागेका छन् ।