नेप्सेमा सामान्य करेक्सन हुँदा १६ कम्पनीको सेयर मूल्यमा सर्किट, कसको मूल्य कति ?

  २०७८ ज्येष्ठ २४ गते ३:२४       विकासन्युज

काठमाडौं । पछिल्लो एक सातादेखि निरन्तर उकालो लागेको सेयर बजारमा सोमबार भने सामान्य करेक्सन देखिएको छ । दिनानुदिन नयाँ नयाँ रकेर्ड राख्दै नयाँ उचाईमा पुगेको परिसूचक सोमबार भने ०.२१ अंकले घटेर २९०६.७० बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.०१ प्रतिशतले घटी हो ।

आइतबारको तुलनामा परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार १७ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा सोमबार भने उक्त रकम १५ अर्ब ८१ करोड रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो दिनको तुलनामा १ अर्ब ४० करोड रुपैयाँले घटी हो ।

सोमबार २२१ कम्पनीको ३ करोड ५४ लाख ७४ हजार ४१४ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ६२ करोड १७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १९०१ रुपैयाँमा भएको छ । जुन हालसम्मकै अधिकतम मूल्य हो ।

त्यस्तै, सोमबार १६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमध्ये अधिकांश फानान्स कम्पनी रहेका छन् । पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स र आईसीएफसी फाइनान्सको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ । अन्य बाँकी १३ कम्पनीको सेयर मूल्य ९.५ प्रतिशतभन्दा बढीले बढेको नेप्सेले जनाएको छ ।

कसकाे मूल्य कति ?

आइतबार बैंकिङ्ग समूहमा आकर्षित भएका लगानीकर्ताहरु सोमबार विकास बैंक, फाइनान्स र हाइड्रोतर्फ मोडिएको देखिन्छ । अघिल्लो दिन घटेको हाइड्रो समूह आज पुनः बढेको छ ।

१३ समूहमध्ये विकास बैंक समूहमा उछाल आएको छ । उक्त समूह सबैभन्दा बढी २६०.०६ अंकले बढेको छ । त्यस्तै, फाइनान्स समूह १६२.९४ अंकले, हाइड्रोपावर समूह ९१, निर्जीवन बीमा ३१ र जीवन बीमा १६ अंकले उकालो लागेका छन् ।

सोमबार सबैभन्दा बढी लक्ष्मी बैंकको सेयर मूल्य घटेको छ । बैंकको सेयर मूल्य ३.५८ प्रतिशतले घटेर प्रतिकित्ता ३७७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।