सेयर बजारमा रेकर्ड कायमै, बढी कारोबार गर्नेको शीर्ष स्थानमा अधिकांश वाणिज्य बैंक

  २०७८ ज्येष्ठ २३ गते ३:४४       विकासन्युज

काठमाडौं । पछिल्लो समय सेयर बजारले दिनहुँ नयाँ नयाँ रेकर्ड राख्दै नयाँ उचाईंमा पुगेको छ । यससँगै आइतबारको बजारले पनि नेप्से परिसूचक र कारोबार रकम दुबैमा नयाँ रेकर्ड राख्न सफल भएको छ ।

आइतबार कारोबार खुलेको एक घण्टामै बढेर २९१९ बिन्दुमा पुगेको परिसूचक त्यसपछिको कारोबारमा भने केहि करेक्सन देखिएको छ । र, अन्तत अघिल्लो दिनको तुलनामा ५०.१३ अंकले बढेर २९०६.८९ बिन्दुमा पुगेर बजार बन्द भएको छ । जुन हालसम्मकै उच्च बिन्दु हो ।

बजारमा परिसूचकसँगै कारोबार रकममा पनि नयाँ कीर्तिमान कायम भएको छ । सो दिनको बजारमा २१८ कम्पनीको १७ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन हालसम्मकै उच्च कारोबार रकम हो । यसअघि गत जेठ १६ गतेको बजारमा १७ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको भएर नयाँ रेकर्ड राखेको थियो । उक्त रेकर्डलाई आज(जेठ २३ गते)को बजारले तोडेर नयाँ रेकर्ड राख्न सफल भएको छ ।

कारोबारको संख्यामा पनि आजको बजारमा उच्च कारोबार भएको छ । एकैदिन २१८ कम्पनीको ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता सेयर किनबेच भएको छ । जुन हालसम्मकै बढी हो ।

बजारमा सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन एक अर्ब २१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता १८७५ रुपैयाँमा भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) रहेको छ । जसको एकैदिन ८३ करोड ९० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । र, आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५७७ रुपैयाँ रहेको छ ।

त्यस्तै, बढी कारोबार गर्नेको टप टेनमा यी दुई कम्पनी, र एक विकास बैंक बाहेक बाँकी सबै वाणिज्य बैंक रहेका छन् । वाणिज्य बैंकमध्ये सबैभन्दा बढी कुमारी बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन ४६ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यससँगै आजको बजारमा अधिकांश लगानीकर्ताको ध्यान बैंकिङ्ग समूहमा रहेको बुझिन्छ ।

आइतबार ५ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । जसमध्ये सबैभन्दा बढी महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५२२७ रुपैयाँ पुगेको छ ।

बजारमा सबैभन्दा बढी जलविद्युत कम्पनीको सेयर मूल्य घटेको छ । त्यसमध्ये पनि राधी विद्युत् कम्पनीको सेयर मूल्य घटेको छ । कम्पनीको सेयर मूल्य ८.५६ प्रतिशतले घटेर प्रतिकित्ता १०४७ रुपैयाँमा झरेको छ ।

यससँगै, लकडाउनको कारणले बढेको सेयर बजार थप अझै बढ्न सक्ने जानकारहरु बताउँछन् । साथै, पछिल्लो समयको बजारलाई कारोबार रकमले साथ दिएकोले पनि बजार थप बढ्न सक्ने उनीहरुको भनाई छ ।