दोश्रो उच्च कारोबारसँगै नेप्सेमा नयाँ रेकर्ड, हाइड्रोका लगानीकर्ता लागे फाइनान्सतिर

  २०७८ ज्येष्ठ २० गते ३:३८       विकासन्युज

काठमाडौं । निषेधाज्ञा बढेसँगै बुधबारजस्तै बिहीबारको सेयर बजारमा पनि उछाल आएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक बढेर उच्च बिन्दुमा पुगेको छ ।

परिसूचक २९.६४ अंकले बढेर २८५६.७७ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.०५ प्रतिशतले बढी हो । यसअघि गत जेठ १६ गते नेप्से परिसूचक २८२७.९३ बिन्दुमा पुगेको थियो । जसलाई बिहीबारको बजारले तोडेर नयाँ रेकर्ड राख्न सफल भएको हो ।

बजारमा पसिूचकसँगै सेयर कारोबार रकममा पनि दाश्रो उच्च कारोबार भएको छ । बिहीबारको बजारमा एकैदिन १६ अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसअघि गत जेठ १६ गतेको बजारमा १७ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन हालसम्मकै उच्च कारोबार हो ।

बिहीबार सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन १ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता १७६५ रुपैयाँमा भएको छ । त्यस्तै, छिमेक लघुवित्त विकास बैंकको ६८ करोड १६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बिहीबार हाइड्रोसहित ४ समूह राताम्मे देखिएका छन् भने बैंकिङ, विकास बैंकसहित बाँकी समूह हरिया देखिएका छन् ।

बजारमा अधिकांश फाइनान्स कम्पनीको सेयर मूल्य बढेको छ । मञ्जुश्री फाइनान्स र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ । त्यस्तै, गुर्खाज फाइनान्सको ९.६८ र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.५५ प्रतिशतले बढेको छ ।

पछिल्लो समय लगातार मूल्य बढ्दै आएको हाईड्रोको सेयर मूल्यमा भने गिरावट आएको छ । मूल्य घट्नेमा सबैभन्दा बढी हाईड्रोका कम्पनी रहेका छन् । जसमध्ये पञ्चकन्या माई हाईड्रोपावरको सेयर मूल्य ५.६२ प्रतिशतले घटेको छ ।

यससँगै बिहीबारको बजारमा हाइड्रोका लगानीकर्ताहरु बैंक तथा फाइनान्सतिर लागेको देखिएको छ । त्यस्तै, सरकारले निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गरेसँगै सेयर बजार अझै केही दिन बढ्न सक्ने जानकारहरु बताउँछन् ।