नेप्से ५४ अंकले बढ्दा एनसीसी बैंकको उच्च कारोबार, सेयर मूल्यमा पनि निरन्तर वृद्धि

  २०७८ वैशाख १९ गते ३:३१       विकासन्युज

काठमाडौं । साताको पहिलो दिनको कारोबारमा नेप्से परिसूचक ५४ अंकले उकालो लागेको छ । सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २.०७ प्रतिशतले बढेर २६६५.११ बिन्दुमा पुगेको हो ।

त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८.७८ अंकले बढेर ४७७.८१ बिन्दुमा पुगेको छ ।

नेप्सेसँगै आइतबारको कारोबार रकममा पनि वृद्धि भएको छ । गत बिहीबार अर्थात बैशाख १६ गते ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा आज (बैशाख १९ गते) आइतबार ७ अर्ब ३६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

जुन अघिल्लो कारोबारको तुलनामा ३ अर्ब रुपैयाँ बढी हो । यसले सेयर बजारमा लगानीकर्ता आकर्षित भएको बुझिन्छ । पछिल्लो समय देशभर निषेधाज्ञा जारी भएसँगै अन्य क्षेत्र बन्द भएकोले लगानीकर्ताहरु सेयरमा आकर्षित भएका हुन् ।

आइतबार २२६ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी एनसीसी बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन ४२ करोड २ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैंकको आज मात्र नभएर पछिल्लो केही दिनयतादेखि निरन्तर रुपमा उच्च कारोबार भइरहेको छ ।

साथै, कारोबार रकममा मात्रै सुधार नभएर बैंकको सेयर मूल्य पनि वृद्धि भएको छ । गत मंगलबार अर्थात बैशाख १४ गतेदेखि कम्पनीको सेयर मूल्य निरन्तर रुपमा बढेको छ । गत मंगलबार प्रतिकित्ता ३२८ रुपैयाँमा रहेको बैंकको सेयर मूल्य आज प्रतिकित्ता ३६७ रुपैयाँ पुगेको छ । तीन कार्यदिनमा बैंकको सेयर मूल्य प्रतिकित्ता ३९ रुपैयाँले बढीसकेको छ ।

बजारमा एनसीसी बैंक नबिल बैंकसँग मर्ज हुने हल्लासँगै कम्पनीको कारोबार रकम र सेयर मूल्यमा दुबैमा निरन्तर वृद्धि भएको हो की भन्ने पनि बुझिन्छ ।

आइतबार कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ६३२ अंकले उकालो लागेको छ । त्यस्तै, निर्जीवन बीमा समूह ४३४ अंकले बढेको छ । सबैभन्दा कम बढ्नेमा म्युचुअल फण्ड समूह रहेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ०.०४ अंकले बढेको छ ।

दोहोरो अंकले बढेको बजारमा तीन कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । बिशाल बजार कम्पनीको ९.९८ प्रतिशत, महिला लघुवित्त वित्तीय संस्थाको ९.९८ प्रतिशत र सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्य ९.९२ प्रतिशतले बढको हो ।