निषेधाज्ञाको पहिलो दिनको सेयर बजारः नेप्से र कारोबार दुबै बढ्यो, तीन कम्पनीमा सर्किट

  २०७८ वैशाख १६ गते ३:३९       विकासन्युज

काठमाडौं । आज बैशाख १६ गते निषेधाज्ञाको पहिलो दिन सेयर बजार सकारात्मक देखिएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ ।

साताको अन्तिम दिन नेप्से परिसूचक २५.८३ अंकले बढेर २६११.११ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १ प्रतिशतले बढी हो ।

परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । बुधबार ३ अर्ब ९९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको बजारमा बिहीबार ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बिहीबार २१७ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी एनसीसी बैंकको उच्च कारोबार भएको छ । अघिल्लो दिन पनि उच्च कारोबार भएको बैंकको सेयर बिहीबार पनि ३० करोड ९६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैंकको कारोबार मात्रै नभएर सेयर मूल्यमा पनि वृद्धि भएको छ । बिहीबार बैंकको अन्तिम कारोबार प्रतिकित्ता ३५२ रुपैयाँमा भएको छ । जुन अघिल्लो कारोबारको तुलनामा १२ रुपैयाँले बढी हो ।

बजारमा तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा किनबेच भएको छ । महिला लघुवित्त वित्तीय संस्था र सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ । दुबैको सेयर मूल्य क्रमशः प्रतिकित्ता ३१२५ र ३६३ रुपैयाँ पुगेको छ । जसमध्ये सिंगटी हाइड्रोको सेयर बुधबारदेखि मात्रै दोश्रो बजारमा कारोबार हुन थालेको छ ।

त्यस्तै, बिशाल बजार कम्पनीको निरन्तर रुपमा सेयर मूल्य बढीरहेको छ । कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५०९९ रुपैयाँ पुगेको छ ।

बिहीबार सबैभन्दा बढी श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको सेयर मूल्य घटेको छ । संस्थाको सेयर मूल्य २.८२ प्रतिशतले घटेर प्रतिकित्ता २४१ रुपैयाँमा झरेको छ ।