एनआईसी एशिया लघुवित्त र ज्योति लाईफसहित ६ कम्पनीका सेयरधनीको सम्पत्ति १०%ले बढ्यो

  २०७७ चैत्र २६ गते ३:२५       विकासन्युज

काठमाडौं । बिहीबार ६ कम्पनीका सेयरधनीको सम्पत्ति १० प्रतिशतले बढेको छ । ज्योति लाइफ इन्स्योरेन्ससहित ६ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेर सर्किट लागेसँगै ती कम्पनीको भर्च्युअल सम्पत्ति बढेको हो ।

बिहीबार एनआईसी एशिया लघुवित्त वित्तीय संस्था, ग्रीन लाइफ हाइड्रोपावर, ज्योति लाईफ इन्स्योरेन्स, मल्टीप्रपोज फाइनान्स कम्पनी, रिलायन्स फाइनान्स र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

सबैभन्दा बढी एनआईसी एशिया लघुवित्तको सेयर मूल्य ९.९४ प्रतिशतले बढेर प्रतिकित्ता १४०५ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १२७ रुपैयाँले बढेको छ ।

त्यस्तै, ग्रीन लाइफ हाइड्रोको ९.९२ प्रतिशतले बढेर प्रतिकित्ता ४१० रुपैयाँ पुगेको छ । जुन बुधबारको तुलनामा ३७ रुपैयाँले बढी हो ।

त्यस्तै, बुधबार मात्रै दोश्रो बजार प्रवेश गरेको ज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्य दोश्रो दिन पनि बढेको छ । दोश्रो दिन कम्पनीको सेयर मूल्य ९.७९ प्रतिशतले बढेर प्रतिकित्ता ४२६ रुपैयाँ पुगेको छ । जुन पहिलो कारोबारको तुलनामा ३८ रुपैयाँले बढी हो ।

त्यसैगरी, मल्टी प्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य २१ रुपैयाँ अर्थात ९.७७ प्रतिशतले बढेको छ । बिहीबार संस्थाको अन्तिम कारोबार प्रतिकित्ता २३६ रुपैयाँमा कारोबार भएको छ ।

त्यसैगरी, रिलायन्स फाइनान्स र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य क्रमशः ९.६८ प्रतिशत र ९.६० प्रतिशतले बढेको छ । जसमध्ये रिलायन्स फाइनान्सको अन्तिम कारोबार प्रतिकित्ता ३०६ रुपैयाँमा भएको छ, जुन अघिल्लो कारोबारको तुलनामा २७ रुपैयाँले बढी हो । यो संस्थाले लाभांश प्रस्तावपारित गर्न साधारणसभाको घोषणा गरेसँगै कम्पनीको सेयर मूल्य बढेको हो ।

ग्लोबल आईएमई लघुवित्तको अन्तिम कारोबार प्रतिकित्ता २ हजार ४४४ रुपैयाँमा भएको छ । जुन अघिल्लो दिनको तुलनामा ९.६० प्रतिशत अर्थात २१४ रुपैयाँ बढी हो ।

समग्रमा बिहीबारको सेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक २.७४ प्रतिशतले बढेर २६७४.३६ बिन्दुमा पुगेको छ ।

बजारमा २०७ कम्पनीको ६ अर्ब ५५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यी कम्पनीको कूल एक करोड ३३ लाख ७६ हजार कित्ता सेयर सो परिमाणमा किनबेच भएको हो ।

कूल कारोबारमध्ये सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावरको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ३७ करोड १३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ८९२ रुपैयाँ रहेको छ ।

सामान्य अंकले बढेको बजारमा यूनिभर्सल पावर कम्पनीको सेयर मूल्य सामान्य अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा बिहीबार कम्पनीको सेयर मूल्य ८ रुपैयाँले घटेर प्रतिकित्ता १७३ रुपैयाँमा झरेको हो ।