सेयर बजारमा दैनिक रेकर्ड ब्रेक, ११ कम्पनीको सेयरमा लाग्यो सकारात्मक सर्किट

  २०७७ चैत्र २४ गते ३:२७       विकासन्युज

काठमाडौं । पछिल्लो समय सेयर बजारले दैनिक नयाँ नयाँ रेकर्ड कायम गरेको छ । गत तीन दिनदेखि नेप्से परिसूचक निरन्त रुपमा बढेर नयाँ उचाईमा पुग्न सफल भएको हो ।

मंगलबारको बजारमा पनि नेप्से परिसूचकले नयाँ उचाई चुमेको छ । दिनभरको कारोबारमा परिसूचक १५.७२ अंकले बढेर २६७४.४७ बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो । यसअघि हिजो अर्थात चैत २३ गते मात्रै नेप्से परिसूचक २६५८ बिन्दुमा पुगेको थियो जसलाई आजको बजारले रेकर्ड ब्रेक गरेको छ ।

मंगलबारको बजारमा परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ । सो दिन कूल २१३ कम्पनीको ७ अर्ब ४८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा १८ करोड रुपैयाँले बढी हो । सोमबारको बजारमा कूल ७ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

कूल कारोबारमध्ये सबैभन्दा बढी नेपाल इन्फ्राष्ट्रक्चर बैंक(निफ्रा)को सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ३९ करोड ८० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

नयाँ उचाईमा पुगेको बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । जसमध्ये ११ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसमा पनि चिलिमे हाइड्रोपावर कम्पनी, यूनिभर्सल पावर कम्पनी, यूनाईटेड इदी मार्दी आरबी हाइड्रोपावर र चन्द्रागिरी हिल्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

मंगलबार सर्किट लेभलमा काराेबार भएका कम्पनीहरू

सो दिन सबैभन्दा बढी साल्ट ट्रेडिङ्ग कर्पोरेशनको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ । कम्पनीले सेयरधनीलाई अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवको लाभांश कम घोषणा गरेसँगै सेयर मूल्यमा गिरावट आएको बुझिन्छ । कम्पनीले चैत २३ गते सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।