नेप्सेमा नयाँ रेकर्ड, ९ अर्बमाथिको कारोबार हुँदा ७ कम्पनीको सेयर मूल्यमा सर्किट

  २०७७ चैत्र २२ गते ४:२५       विकासन्युज

काठमाडौं । आइतबारको सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । नेप्से परिसूचक २५.७१ अंकले बढेर २६५७.६१ बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो ।

यसअघि गत फागुन ९ गते आइतबार नेप्से परिसूचक २६४०.३५ बिन्दुमा पुगेर नयाँ रेकर्ड राखेको थियो । जसलाई आज आइतबारको बजारले तोडेर नयाँ रेकर्ड राख्न सफल भएको छ ।

त्यस्तै, परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । गत बिहीबार ७ अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको बजारमा आइतबार ९ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ ।

बजारमा कूल २१२ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को सेयर किनबेच भएको छ । कम्पनीको एकैदिन ४७ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बजारमा ७ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । वोमी लघुवित्त वित्तीय संस्था र जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै, राधी विद्युत कम्पनीको ९.९८, आईएमई जनरल इन्स्योरेन्सको ९.९७, एनआईसी एशिया लघुवित्तको ९.९५ प्रतिशत र सानिमा जनरल इन्स्योरेन्सको सेयर मूल्य ९.९३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आइतबारको बजारमा सबैभन्दा बढी बीमा कम्पनीको समूहमा उछाल आएको छ । जसमध्ये पनि निर्जीवन बीमा ५४३ अंकले बढेको छ भने जीवन बीमा १५४ अंकले बढेको छ । अधिकांश बीमा कम्पनीले पुँजी वृद्धिको घोषणा गरेसँगै त्यसको प्रभाव सेयर बजारमा परेको हो ।

पुँजी वृद्धिको लहर ल्याउँदै बीमा कम्पनीहरु

सो दिन सबैभन्दा बढी ट्रेडिङ समूह २०३ अंकले घटेको छ । साल्ट्र ट्रेडिङ्ग ४.६३ प्रतिशतले घटेर १२७०० हजार रुपैयाँमा सीमित भएको छ ।