हकप्रद प्रस्तावसँगै अजोडको सेयर मूल्यमा सर्किट, निफ्राको कारोबार बढ्दा सेयर मूल्य घट्यो

  २०७७ चैत्र १७ गते ४:२०       विकासन्युज

काठमाडौं । मंगलबारको सेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार सामान्य अंकले घटेको बजार मंगलबार भने दोहोरो अर्थात ३२.१५ अंकले बढेर २५७५ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.२६ प्रतिशतले बढी हो ।

बजारमा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । सोमबार ४ अर्ब ४१ करोडको सेयर किनबेच भएको बजारमा मंगलबार ६ अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसमध्ये नेपाल इन्फ्राष्ट्रक्चर बैंक (निफ्रा)को उच्च कारोबार भएको छ । बैंकको ४८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४ करोड रुपैयाँले बढी हो ।

सेयर कारोबार रकममा सुधार भएको बैंकको सेयर मूल्यमा भने गिरावट आएको छ । र, मंगलबार सबैभन्दा बढी गुमाउनेको दोश्रो स्थानमा निफ्रा रहेको छ । सोमबारको तुलनामा बैंकको सेयर मूल्य २.३१ प्रतिशत अर्थात १४ रुपैयाँले घटेर प्रतिकित्ता ५९२ रुपैयाँमा झरेको छ । त्यस्तै, सबैभन्दा बढी सम्पत्ति गुमाउनेको प्रथम स्थानमा यूनाईटेड इदी मार्दी आरबी हाइड्रोपावरका लगानीकर्ता रहेको छ । सो कम्पनीका लगानीकर्ताले मंगलबार ५.३३ प्रतिशत अर्थात प्रतिकित्ता १८ रुपैयाँ गुमाएका छन् । मंगलबार कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ३२० रुपैयाँमा भएको छ ।

त्यसैगरी, अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । जसमध्ये अजोड इन्स्योरेन्ससहित ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी वोमी माइक्रोफाइनान्सको ९.९९ प्रतिशत, सानिमा जनरल इन्स्योरेन्सको ९.९७ प्रतिशत, जनरल इन्स्योरेन्स कम्पनी नेपालको ९.९४ प्रतिशत, अजोड इन्स्योरेन्सको ९.९२ प्रतिशत र सुमीट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.५६ प्रतिशतले बढेको छ ।

अजोड इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा गरेसँगै कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।