नेप्से परिसूचक घट्दा कारोबार रकम बढ्यो, चार शीर्षक जसमा निफ्रा अगाडि

  २०७७ फाल्गुन ११ गते ३:५७       विकासन्युज

काठमाडौं । मंगलबारको नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । दिनभर उतारचढाव देखिएको बजारमा परिसूचक अन्ततः २१.१६ अंकले घटेर २५८६.५१ बिन्दुमा झरेको छ । जुन सोमबारको तुलनामा ०.८१ प्रतिशत घटी हो ।

कारोबार शुरु भएको करिब २ घण्टाको अवधिमा घटेर २५१९ बिन्दुसम्म पुगेको बजार त्यसपछिको कारोबारमा भने समालिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि २.४१ अंकले घटेर ४६७ बिन्दुमा झरेको छ ।

उतारचढाव देखिएको बजारमा कारोबार रकममा भने वृद्धि भएको छ । सोमबार ८ अर्ब ४० करोडको सेयर कारोबार भएको बजारमा मंगलबार भने ८ अर्ब ५६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । एकैदिन २०५ कम्पनीको एक करोड ७७ लाख १४ हजार ९१२ कित्ता सेयर खरिद बिक्री भएका छन् ।

चार शीर्षकमा निफ्रा अगाडि, दाेश्राेमा अप्पर (तीनवटामा)
मंगलबार काराेबार भएकामध्ये सबैभन्दा धेरै कारोबार(रकमको आधारमा), धेरै कित्ता किनबेच, धेरै पटक सेयर कारोबार गर्ने र सबैभन्दा धेरै घट्ने चार वटै शीर्षकको अग्रस्थानमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) रहेको छ ।

बैंकको एकैदिन ७३ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अन्य कम्पनीको तुलनामा सबैभन्दा बढी हो । त्यस्तै बढी कारोबार गर्नेको दोश्रो स्थानमा अपर तामाकोशी हाइड्रोपावर रहेको छ । जसको ४३ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, बैंकको १० लाख ८१ हजार ४०० कित्ता सेयर खरिद बिक्री भएको छ । जुन अन्य कम्पनी भन्दा बढी हो । सबैभन्दा बढी कित्ता सेयर किनबेच गर्नेको दोश्रो स्थानमा अपर तामाकोशी रहेको छ । जसको मंगलबार मात्रै ७ लाख ५३ हजार ६२८ कित्ता सेयर किनबेच भएको छ ।

त्यसैगरी, धेरै पटक सेयर किनबेच हुनेको अग्रस्थानमा पनि निफ्रा नै रहेको छ । बैंकको एकैदिन ११ हजार ५५ पटकसम्म सेयर कारोबार भएको हो भने दोश्रो स्थानमा रहेको अपर तामाकोशीको ४ हजार ३७९ पटकसम्म सेयर किनबेच भएको हो ।

अर्को, सबैभन्दा बढी सेयर मूल्य घट्नेको अग्रस्थानमा पनि निफ्रानै रहेको छ । सो दिन बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको हो । सोमबार प्रतिकित्ता ६६० रुपैयाँमा कारोबार भएको बैंकको सेयर मंगलबार प्रतिकित्ता ५६४ रुपैयाँमा कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ६६ रुपैयाँले घटी हो ।

त्यस्तै, बढी गुमाउनेको दोश्रो स्थानमा भने आँखुखोला जलविद्युत कम्पनी रहेको छ । उक्त कम्पनीको सेयरधनीका सम्पत्ति भने सोमबारको तुलनामा ६.६७ प्रतिशतले घटेको छ । सो दिन कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १५४ रुपैयाँमा भएको हो । जुन अघिल्लो दिनको तुलनामा प्रतिकित्ता ११ रुपैयाँ कम हो ।

दोहोरो अंकले घटेको बजारमा पनि नेपाल फाइनान्सको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । संस्थाको सेयर मूल्य ९.९३ प्रतिशतले बढेर प्रतिकित्ता ३२१ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २९ रुपैयाँले बढी हो ।

त्यस्तै, मंगलबार ट्रेडिङ्ग समूह बाहेक बाँकी समूह राताम्मे भएका छन् । सबैभन्दा बढी उत्पादनमूलक समूह ९५.९९ अंकले घटेको छ । ट्रेडिङ्ग समूह भने २६.७३ अंकले बढेको हो ।

सम्बन्धित समाचार

निफ्राको सेयर बेच्नेको ओइरो लाग्दा किन्ने कोहि भएनन्

दुई घण्टामै ८४ अंकले घट्यो नेप्से, निफ्राको सेयर मूल्य १० प्रतिशतले घट्दा चन्द्रागिरीको बढ्यो