३२ अंकले घटेको बजारमा पनि ७ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार

  २०७७ फाल्गुन १० गते ३:३४       विकासन्युज

काठमाडौं । सोमबारको नेप्से परिसूचक ३२.६७ अंकले घटेको छ । पछिल्लो एक सातादेखि निरन्तर उकालो लागेको सेयर बजारमा सोमबार भने करेक्सन देखिएको हो ।

जुन अघिल्लो दिनको तुनामा १.२४ प्रतिशतले घटेर २६०७.६७ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ९.२२ अंकले घटेर ४७०.३६ बिन्दुमा झरेको छ ।

आइतबारको तुलनामा सोमबार परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आइतबार पौने ९ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा सोमबार भने ८ अर्ब ४० करोड रुपैयाँ बराबरको मात्रै सेयर किनबेच भएको छ ।

सोमबार २०७ कम्पनीको २ करोड १६ लाख १४ हजार ४५२ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी एनआईसी एशिया बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन ३८ करोड २४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । जसको सेयर मूल्य प्रतिकित्ता ९१८ रुपैयाँ रहेको छ ।

त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) रहेको छ । बैंकको एकैदिन ३२ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

निर्धान उत्थान लघुवित्त वित्तीय संस्थाको ३० करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार संस्थाको अन्तिम कारोबार प्रतिकित्ता १६२७ रुपैयाँमा भएको थियो ।

दोहोरो अंकले घटेको बजारमा पनि ७ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । आँखुखोला जलविद्युत कम्पनी र निफ्राको सेयर मूल्य १०÷१० प्रतिशतले बढेको छ । आँखुखोलको सेयर मूल्य १५ रुपैयाँले बढेर प्रतिकित्ता १६५ रुपैयाँ पुगेको छ । त्यस्तै, निफ्राको ६० रुपैयाँले बढेर प्रतिकित्ता ६६० रुपैयाँ पुगेको छ ।

नेपाल हाइड्रो डेभलपर्सको ९.९३, अपर तामाकोशी हाइड्रोको ९.८३, चन्द्रागिरी हिल्सको ९.६७, शिवश्री हाइड्रोपावरको ९.६३ र सनराइज फर्ष्ट म्युचुअल फण्डको सेयर मूल्य ९.५९ प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भएको हो ।

त्यस्तै, खानीखोला हाइड्रोपावर कम्पनीको पनि सेयर मूल्य ९.४० प्रतिशतले बढेको छ ।

सो दिन सबैभन्दा बढी सेञ्चुरी कमर्शियल बैंकको सेयर मूल्य घटेको छ । बैंकको सेयर मूल्य ५.५२ प्रतिशत अर्थात १६ रुपैयाँले घटेर प्रतिकित्ता २७४ रुपैयाँमा कारोबार भएको छ ।