बजारमा निफ्राको उच्च कारोबार, बढी कमाउनेमा पनि निफ्राकै लगानीकर्ता अगाडि

  २०७७ फाल्गुन ५ गते ३:२०       विकासन्युज

काठमाडौं । बुधबारको सेयर बजारमा नेपाल इन्फ्राष्ट्रक्चर बैंक (निफ्रा)को उच्च कारोबार भएको छ । कूल २०३ कम्पनीको कारोबार भएको बजारमा सबैभन्दा बढी निफ्राको सेयर किनबेच भएको हो ।

कम्पनीको एकैदिन ६९ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन कम्पनीको १३ लाख ९७ हजार १३० कित्ता सेयर खरिदबिक्री भएको हो । बुधबार कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ४९७ रुपैयाँमा भएको छ । जुन अघिल्लो दिनको तुलनामा ९.९६ प्रतिशत अर्थात ४५ रुपैयाँले बढी हो ।

त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा नबिल बैंक रहेको छ । बैंकको एकैदिन ४१ करोड १६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता १३९१ रुपैयाँ रहेको छ ।

समग्रमा बुधबारको नेप्से परिसूचक ९.०४ अंकले बढेर २६११ बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.४७ अंकले बढेर ४७५ बिन्दुमा पुगेको छ ।

बजारमा एक करोड ७६ लाख ८८ हजार २७१ कित्ता सेयर कूल ८ अर्ब ३ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ ।

साे दिन निफ्राका लगानीकर्ताले सबैभन्दा बढी अर्थात ९.९६ प्रतिशत कमाएका छन् । कम्पनीको दोश्रो बजारमा कारोबार शुरु भएदेखि नै निरन्तर सेयर मूल्यमा सर्किट लागेको छ । त्यस्तै, बाँकी तीन कम्पनीकाे सेयर मूल्य सर्किट लेभलमा किनबेच भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८९, हिमालय उर्जा विकास कम्पनीको ९.८३ र समृद्धि फाइनान्स कम्पनीको सेयर मूल्य ९.५० प्रतिशतले बढेको छ ।