नेप्सेमा नयाँ रेकर्ड, चन्द्रागिरीसहित ६ कम्पनीको सेयरमा सर्किट, लगानीकर्ताको आकर्षण नबिल बैंकमा

  २०७७ फाल्गुन ४ गते ३:३७       विकासन्युज

काठमाडौं । मंगलबारको नेप्से परिसूचकले २६०० बिन्दु पार गरेको छ । कारोबार खुलेदेखि उतारचढाव देखिएको परिसूचक अन्तत १५.५० अंकले बढेर २६०१.५१ बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो ।

सो दिन बजार खुलेको करिब एक घण्टामा परिसूचक उकालो लागेर २६३० बिन्दुसम्म पुगेको थियो । तर त्यसपछिको कारोबारमा भने परिसूचक करेक्सन तर्फलागेको हो ।

दिनभर कारोबार भएको बजारमा १० अर्ब ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो कारोबारको तुलनामा ३५ करोड रुपैयाँले घटी हो । अघिल्लो दिन अर्थात सोमबारको बजारमा कुल १० अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

मंगलबार २०८ कम्पनीको सेयर कारोबार भएको थियो । जसमध्ये उच्च कारोबार गर्नेमा अधिकांश वाणिज्य बैंक रहेका छन् । त्यसमा पनि नबिल बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बैंकको एकैदिन ५४ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता १३६५ रुपैयाँ रहेको छ ।

त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा ग्लोबल आईएमई बैंक रहेको छ । बैंकको एकैदिन ४२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ४९८ रुपैयाँ रहेको छ ।

मंगलबार चार कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सबैभन्दा बढी चन्द्रागिरी हिल्सको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २२० रुपैयाँ पुगेको छ ।

त्यसैगरी, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४५२ रुपैयाँ पुगेको छ ।

मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.९८, कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८७, सनराइज फर्ष्ट म्युचुअल फण्डको ९.७७ र हिमालय उर्जा विकास कम्पनीको सेयर मूल्य ९.६७ प्रतिशतले बढेको छ ।

मंगलबार साधना लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.१५ प्रतिशतले घटेर प्रतिकित्ता १४५० रुपैयाँमा झरेको छ ।