२०७७ माघ १२ गते ३:३९ विकासन्युज
काठमाडौं । सोमबारको नेप्से परिसूचक २४४०.८७ बिन्दुमा पुगेको छ । जुन पुँजीबजारको इतिहासमा हालसम्मकै उच्च बिन्दु हो ।
उतारचढाव देखिएको सोमबारको बजारमा नेप्से परिसूचक दोहोरो अंकले बढेको हो । अघिल्लो दिनको तुलनामा सोमबारको परिसूचक १६.०४ अंकले बढेर २४४० अंक माथि पुग्न सफल भएको हो ।
बजारमा परिसूचक उकालो लागे पनि सेन्सेटिभ इन्डेक्स भने सामान्य ०.२४ अंकले घटेर ४५१.८२ बिन्दुमा झरेको छ । आइतबारको तुलनामा कारोबार रकम पनि घटेको छ । आइतबार ९ अर्ब ३७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा सोमबार ८ अर्ब ९० करोडको मात्रै सेयर किनबेच भएको छ ।
सो दिन कूल २०८ कम्पनीको एक करोड ९२ लाख कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी कारोबार गर्नेको पहिलो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स, दोश्रोमा नबिल बैंक र तेश्रोमा एनसीसी बैंक रहेका छन् । यो मध्ये नेपाल लाइफ इन्स्योरेन्सको ६९ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, नबिल बैंकको ३३ करोड १७ लाख रुपैयाँ र एनसीसी बैंकको ३१ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
बजारमा सबैभन्दा बढी नागरिक लगानी कोषका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । कोषका लगानीकर्ताले एकैदिन ३७९ रुपैयाँ कमाएका छन् । सोमबार कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ४१६९ रुपैयाँमा भएको छ ।
त्यस्तै, अन्य ५ कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले बढेको छ । गुराँस लघुवित्त वित्तीय संस्थाको ९.९५ प्रतिशतले बढेर प्रतिकित्ता १४०४ रुपैयाँ, प्रभु लाइफ इन्स्योरेन्सको ९.८७ प्रतिशतले बढेर प्रतिकित्ता ५२३ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, माउन्टेन इनर्जीको ९.८१ रुपैयाँले बढेर प्रतिकित्ता ५२६ रुपैयाँ, नेशनल हाइड्रो पावर कम्पनीको प्रतिकित्ता १२८ रुपैयाँ र हिमालयन पावर पार्टनरको सेयर मूल्य ९.३८ प्रतिशतले बढेर प्रतिकित्ता २८० रुपैयाँ पुगेको छ ।
सोमबार सबैभन्दा बढी श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीका सेयरधनीले ६.९८ प्रतिशत गुमाएका छन् ।
सो दिन ५ समूह उकालो लागेका छन् भने बाँकी समूह ओरालो लागेका छन् । बैंकिङ् २४ अंकले, ट्रेडिङ्ग ९० अंकले, निर्जीवन बीमा ७९, अन्य समूह ३१ र म्युचुअल फण्ड समूह ०.०५ अंकले बढेका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ८८ अंकले घटेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.